राप्रपा केन्द्रीय समितिको बैठक: पराजयको मुख्य कारण पार्टी विभाजन



नेपाल समाचारपत्र
काठमाडौं
तीन दिनदेखि जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकले हिन्दू राष्ट्र र राजसंस्थाप्रति प्रतिबद्ध रहने निर्णय गर्दै हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा पनि गरेको छ। साथै, निर्वाचनमा पराजित हुनुको कारणहरू पहिल्याउँदै केन्द्रीय समिति बैठकले पार्टीको भावी रणनीति पनि तय गरेको छ।

हिन्दू राष्ट्र र
राजसंस्थाप्रति प्रतिबद्ध रहने निर्णय

बैठकले हालै सम्पन्न निर्वाचनमा लज्जासपद हार बेहोर्नुपर्नुको मुख्य कारण राष्ट्रवादी तथा हिन्दू राष्ट्र पक्षधर शक्तिलाई कमजोर बनाउने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूको षड्यन्त्र र त्यही षड्यन्त्रअनुरूप निर्वाचनको पूर्वसन्ध्यामा गरिएको पार्टी विभाजन भएको औंल्याइएको छ। पार्टी अध्यक्ष कमल थापाका अनुसार यसबारेमा राप्रपा केन्द्रीय कार्यसमितिले विस्तृत अध्ययन अनुसन्धान गर्नेछ।

बैठकले हालै सम्पन्न निर्वाचनमा पराजित हुनुको अन्य कारणहरूमा बलियो र प्रभावकारी लोकतान्त्रिक गठबन्धन निर्माण हुन नसक्नु, लिखितरूपमा भएको सम्झौताअनुरूप नेपाली कांग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा इमानदारितापूर्ण सहकार्य नहुनु र राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अत्यन्त न्यून स्थानमा मात्र उम्मेदवारी दिनुलाई पनि पराजयको कारण औंल्याएको छ।

अधिकांश क्षेत्रहरूमा राप्रपाको प्रत्यक्षतर्फ उम्मेदवार नहुनु, संविधान संशोधनबारे राप्रपाको स्पष्ट अडान र धारणा नरहनु, सरकारमा राप्रपाको सहभागिताका सम्बन्धमा जनतामा रहेको भ्रमको निराकरण हुन नसक्नु तथा कार्यकर्ताहरूमा पार्टी सरकारमा रहेको अनुभूति नहुनु, साधन स्रोतको अभाव रहनु कमजोर संगठनको कारण जनमतलाई भोटमा रूपान्तरण गर्न नसक्नु, सिद्धान्तप्रति पार्टी नेतृत्व प्रतिबद्ध नरहेको भ्रम जनतामा पर्नुजस्ता करण गर्दा पनि निर्वाचनमा पराजित भोग्नुपरेको बैठकले निष्कर्ष निकालेको थियो।

राप्रपा केन्द्रीय समिति बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणाम पार्टीको निमित्त प्रतिकूल रहे तापनि प्रजातान्त्रिक आदर्शअनुरूप जनताको मतादेशलाई राष्ट्रिय प्रजातन्त्र पार्टी हार्दिकताका साथ शिरोधार्य गर्ने निर्णय गरेको छ।

बैठकले निर्वाचनमा राप्रपाको पराजयले संसद्मा राष्ट्रियता र हिन्दू राष्ट्र पक्षधर शक्तिको उपस्थिति कमजोर भएको भन्दै ९४ प्रतिशत सनातन धर्ममा आस्था राख्ने जनता भएको मुलुकमा उक्त मान्यताको पक्षमा प्रस्टरूपले उभिने निर्णय गरेको छ।

बैठकमा प्रतिनिधिसभामा एक जना मात्र सांसदको प्रतिनिधित्व हुनु दुर्भाग्य भएको जनाएको छ। निर्वाचन परिणामले धर्मान्तरण पक्षधर र बाहरय शक्तिको पक्ष पोषण गर्नेहरूको मनोबल बढ्न गएको ठहर राप्रपाले गरेको छ। बैठकले निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा अत्यधिक बहुमतबाट निर्वाचित हुनुभएकामा पार्टीका महामन्त्री राजेन्द्र लिङदेनलाई बधाई पनि दिएको थियो।

बैठकले चुनावमा राप्रपाको अप्रत्याशित परिणामको कारण र आधारका बारेमा विस्तृत अध्ययन अनुसन्धान गरी भविष्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न डा. विष्णु भण्डारीको संयोजकत्वमा एक निर्वाचन समीक्षा तथा अध्ययन समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्यहरू गोविन्द खनिया, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धनबहादुर बुढा, प्रकाश रिमाल, विजयलक्ष्मी सिंह र श्याम शाही सदस्य रहनुभएको छ।

एक पटकको निर्वाचन परिणामले मात्र नेपालको राष्ट्रिय राजनीतिमा अलग पहिचान र सुस्पष्ट विचार बोकेको राष्ट्रवादी पार्टीको रूपमा स्थापित राप्रपाको औचित्य, आवश्यकता र महत्व समाप्त नहुने भन्दै बैठकले चुनावको निरासजनक परिणामले राप्रपा आफ्नो आदर्श र मान्यताबाट विचलित नहुने निर्णय गरेको छ। राप्रपा केन्द्रीय समिति बैठकले पूर्ण धार्मिक स्वतन्त्रता र समानतासहितको सनातन हिन्दू राष्ट्र, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वयात्त शासन प्रणाली एवम् उदार आर्थिक नीतिको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने मान्यताप्रति राप्रपा निरन्तर प्रतिबद्ध रहने निर्णय गरेको छ।

पार्टीको वैचारिक पक्षको प्राथमिकता, प्रस्तुति र आधारलाई पुनर्विचार तथा परिमार्जन गर्नुपर्ने आवश्यकतालाई बैठकले महसुस गरेको छ। यस सम्बन्धमा आगामी फागुन महिनामा हुने पार्टीको केन्द्रीय परिषद्को बैठकले आवश्यक निर्णय गर्ने निर्णय पनि गरेको छ। केन्द्रीय समिति बैठकले पार्टीले ठूलो पीडा र संकट भोग्नुपरेको वर्तमान अवस्थामा कत्ति पनि विचलित नभई पार्टीको सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै एकता कायम राख्न केन्द्रीय कार्यसमिति सम्पूर्ण कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरूलाई आहरवान गरेको छ।

प्रतिक्रिया दिनुहोस्