खुलेआम चुनौती दिँदै अपराधी

0
Shares

दीपक रिजाल, काठमाडौं
राज्यको पहिलो अंगका रूपमा रहेको नेपाल प्रहरीमा पछिल्लो समय आएको बिचलन र प्रहरी संगठनमाथि राजनीतिक दलले गरेको हस्तक्षेपका कारण अपराधीहरूको मनोबल बढेको छ। आपराधिक क्रियाकलाप गरेर राज्यलाई चुनौती दिँदै आएका अपराधीलाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको दाबी गरे पनि पछिल्लो पटक राज्यलाई नै चुनौती दिँदै रूपन्देहीको देवदहका मनोज पुनले व्यक्ति हत्याको जिम्मेवारी लिँदै आएका छन्।

एक वर्षअघि युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या, असोज २३ गते बानेश्वरमा निर्माण व्यवसायी संघका अध्यक्ष शरद्कुमार गौचनको हत्याको समेत जिम्मेवारी लिएका पुनले शुक्रबार रूपन्देहीको देवदहका काठ व्यापारी बलु पौडेलको हत्याको जिम्मेवारी लिएर प्रहरीलाई ठाडो चुनौती दिएका छन्।

नेकपा एमालेको युवा संगठन युथफोर्समा संगठित भएका पुनले शुरूमा भैरहवा नाका र बुटवल बजार क्षेत्रमा आतंक मच्चाउँदै हप्ता असुली गर्दै आएका थिए। गुण्डागर्दी गर्ने क्रममा हाल प्रहरीको हिरासतमा रहेका समीरमानसिंह बस्नेतसँग साझेदारीमा आपराधिक व्यवसाय सञ्चालन गर्दै आएका पुन एमाले कार्यकर्ता दुर्गा तिवारीको हत्या गरेपछि चर्चामा आएका थिए। तिवारी हत्याकाण्डपछि बस्नेतसँग हिसाब किताबको मामिलामा तनावयुक्त साझेदारी गर्दै आएका ती दुई गुण्डाबीच गौचनको हत्यापछि भने एकले अर्कालाई सिध्याउने खेल बढेको बताइन्छ।

गौचन हत्यामा बस्नेत पक्राउ परेपछि पुनले नेपालमा रहेका व्यापारीलाई पटक पटक फोन गर्ने, रकम नदिए हत्या गर्नेसम्मका चेतावनी दिँदै आइरहेका बेला शुक्रबार पनि लेनदेन नमिलेपछि पौडेलको हत्या गर्न लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पुनले पटक पटक फोन गरेर हत्याको जिम्मेवारी लिनुलाई राज्य असफल हुँदै गएको हो कि भन्ने आशंका उत्पन्न भएको नेपाल प्रहरीका पूर्वएआईजी नवराज ढकाल बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘सुरक्षा निकायमा विचलन आउनु र प्रहरीमाथि राजनीतिक हस्तक्षेप बढ्दै गइरहेका बेला अपराधीहरूले यस प्रकारका हरकत गर्छन्।

एआईजी ढकालका अनुसार राज्यले यस्ता गतिविधि समयमा नै नियन्त्रण गर्न सकेन भने आपराधिक पृष्ठभूमिका आपराधीहरूले अझै चलखेल गर्न सक्ने भएकाले सुरक्षा निकाय चनाखो हुने बेला आएको छ। अपराधीमाथि राज्यले गर्नुपर्ने निगरानी कमजोर भएका कारण यस्ता घटना हुने भएकाले राज्य चनाखो हुनुपर्ने उहाँ बताउनुहुन्छ। यता नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले मनोज पुन नेपाल प्रहरीको खोजीको सूचीमा रहेको बताउनुभयो। अपराध गर्ने कुनै पनि अपराधी प्रहरीको नजरबाट उम्कन नसक्ने दाबी गर्दै पुनलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्ने तयारीमा प्रहरी संगठन पुगेको जानकारी उहाँले दिनुभयो।

अपराधीहरू केही दिन उम्कन सक्लान्, तर प्रहरीले पुनका बारेमा कतिपय सूचना संकलन गरिसकेकाले उसले सोचेको जस्तो अवस्था अब नरहेको पनि प्रवक्ता नेउपानेले दाबी गर्नुभयो। नेपाल प्रहरीमा चुनौतीका रूपमा रहेका पुनलाई कारबाहीको दायरमा ल्याउन सबै हथकण्डा अपनाउने पनि उहाँले दाबी गर्नुभयो।

पौडेलको हत्यामा पुनको हात
यमलाल भुसाल, बुटवल
रूपन्देहीको देवदह नगरपालिका–२ मा गोली प्रहारबाट एक जना व्यापारीको हत्या भएपछि शुक्रबार बुटवल र देवदह क्षेत्र तनावग्रस्त बन्न पुग्यो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह–२ ढेकारका वसन्त भनिने बलु पौडेलमाथि गोली प्रहार भएको र गम्भीर अवस्थामा उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको थियो।

शुक्रबार बिहान सवा ११ बजे पौडेललाई छातीमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ। बलुको हत्या भएको विरोधमा दिनभर बुटवल र देवदह क्षेत्रमा सवारी साधन बन्द गरिएको थियो। तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा विद्यार्थीहरूले बुटवल बन्द गरेका थिए।

इप्रका बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ४० वर्षीय पौडेल काठ मिल व्यवसायी हुनुहुन्थो। मोटरसाइकलमा आएका २ जनाले गोली प्रहार गरी धकधइतिर भागेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले पौडेलको हत्यामा प्रयोग गरेको मोटरसाइकल बुटवल उपमहानगरपालिका ११ भलुहीको जंगलमा फेला पारेको छ। देवदहमै एक वर्षअघि युवा संघका नेता दुर्गा तिवारीको गोली हानी हत्या गरिएको थियो।

घटनालगत्तै आफूलाई मलेसियाबाट मनोज पुन बोलेको बताउने व्यक्तिले स्थानीय सञ्चारकर्मी र विभिन्न व्यक्तिलाई फोन गरी हत्या आफूले गरेका बताएका छन्। एक वर्षअघि पनि उनले यस्तै फोन गरी दुर्गाको हत्या आफूले गराएको र अब वसन्तको पालो भन्दै धम्की दिएका थिए। बलु दुर्गाका नजिकका साथी हुन्। मलाई धेरै दुःख दिएको मैले भन्दा पनि नसुध्रिएकाले हत्या गर्न मेरा साथीहरूलाई पठाएको हुँ भन्दै मनोजले सञ्चारकर्मीलाई बताएका थिए।

बलु पूर्व गाविस अध्यक्ष तथा एमाले क्षेत्रीय अध्यक्ष नीलकण्ठ पौडेलका एक्ला छोरा हुन्। गोली कसले चलायो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। गोली प्रहार गर्ने व्यक्ति कालो डिस्कभर मोटरसाइकलमा रोहिणी खोलातिर भागेको स्थानीयले बताएका छन्। मृतक आफ्नो काठ मिलमा आगो तापेर बसिरहेका बेला गोली प्रहार भएको थियो। काठ मिलको सञ्चालकसमेत रहेकाले लेनदेनको विवादका कारण गोली हानिएको हुन सक्ने रूपन्देहीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो।

मृतक पौडेल १ वर्षअघि २०७३ पुस ४ गते गोली हानी मारिएका युवा संघका तत्कालीन जिल्ला अध्यक्ष दुर्गा तिवारीका पार्टनर हुन्। दुर्गा तिवारीलाई गोली हानिएको स्थाननजिकै पौडेललाई पनि गोली हानिएको छ।

दुर्गा तिवारीलाई मनोज पुन नाम गरेका व्यक्तिले आफूले हत्या गराएको दाबी गरेका थिए। बलुलाई पनि मनोज पुनकै नामबाट पछिल्लो समयमा धम्की आउने गरेको स्रोतले बतायो। गोली हान्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। पौडेलको हत्याको विरोधमा युवा संघ रूपन्देहीले शनिबार जिल्लामा बन्दको घोषणा गरेको छ।

शुक्रबार एक्कासि सवारी बन्द गराएका कारण गन्तव्य नपुग्दै सयौं यात्रुहरू सडकमै अलपत्र परेका थिए। दिन दहाडै गोली हानी बलुको हत्या भएको र कुनै व्यक्ति पक्राउ नहुनुले रूपन्देहीको शान्तिसुरक्षा कमजोर भएको महसुस जिल्लाबासीले गरेका छन्।

एक वर्षअघि युवा संघका नेता दुर्गा तिवारीको गोली हानी हत्या गर्ने व्यक्ति म नै हुँ भन्ने मनोज पुनलाई यति लामो समयसम्म पक्राउ गर्न नसक्नु प्रहरी प्रशासनको कमजोरी र लाचारीपना भएको स्थानीयहरूले बताएका छन्। यसैबीच नेपाल वन पैदावार उद्योग व्यवसायी संघ रूपन्देहीले एक विज्ञप्ति जारी गर्दै सदस्य उद्योगी, उज्ज्वल सःमिलका सञ्चालक बलुमाथि भएको गोली प्रहार र विभत्स हत्याले नेपाल वन पैदावार उद्योग व्यवसायी संघ, रूपन्देही स्तब्ध भएको जनाएको छ।