निर्माण सामग्रीको मूल्यवृद्धि स्वाभाविकः व्यवसायी



रोविन पौडेल, काठमाडौं

बजारमा एक्कासि निर्माण सामग्रीको मूल्य बढेको छ। भारतबाट क्लिंकर, जिप्समलगायतका निर्माण सामग्रीको कच्चा पदार्थ आयात गर्दा रक्सौलमा अनलोड समस्या भइरहेका बेला नेपालमा निर्माण सामग्रीको मूल्यवृद्धि भएको हो।

निर्माण क्षेत्रको सिजन शुरू हुनै लाग्दा भएको मूल्य वृद्धिले उपभोक्ता मात्र होइन खुद्रा विक्रेतासमेत मर्कामा परेका छन्। निर्माणकर्तासँग पहिले नै सहमति भई निर्माण सामग्री उपलब्ध गराउने सम्झौता भइसकेको अवस्थामा बिनाकारण एक्कासि मूल्यवृद्धि भएको खुद्रा व्यवसायीको गुनासो छ।

उपभोक्ताले भने राजनीतिक परिवर्तन हुँदै गरेको अवस्थामा बजार अनुगमन नहुने र कमजोर सरकारी संयन्त्र रहेको फाइदा उठाउँदै विभिन्न वहाना बनाएर निर्माण सामग्रीको मूल्यवृद्धि गरिएको आरोप लगाएका छन्। तर, निर्माण सामग्री उत्पादकले भने विद्युत् आपूर्ति कम हुँदै गएको, इन्धनको मूल्य बढेका कारण ढुवानी खर्च पनि वृद्धि भएको र क्लिंकर आयातमा देखिएको समस्याले सिमेन्टको मूल्यवृद्धि भएको बताएका छन्।

भारतबाट आयात हुँदै आएको क्लिंकर, जिप्समलगायत कच्चा सामग्री आयातमा देखिएको समस्या तथा उत्पादन र ढुवानी लागत बढ्नुले मूल्यवृद्धि गरेको नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताउनुभयो। सिमेन्ट उद्योग व्यवसायी अहिले मर्कामा परेकाले मूल्यवृद्धि स्वाभाविक रहेको उहाँको भनाइ छ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘रक्सौलमा देखिएको समस्या नै मूल्यवृद्धिको मूल कारण हो। यस विषयमा भारतीय पक्षसँग पटकपटक छलफल गरिए पनि समस्या समाधान हुन सकेको छैन। तसर्थ, यस विषयमा सरकारले तदारुकता देखाई चाँडो समाधान गर्नुपर्छ।’ कच्चापदार्थ आयात गर्न सरकारसँग पटकपटक छलफल गरिए पनि नेपाली पक्षबाट विकल्पसहितको समाधान हुन नसकेको उहाँको आरोप छ।

यद्यपि बिनाकारण मूल्यवृद्धि भयो भन्ने किसिमका व्यवसायीको आरोप जायज नरहेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो– ‘व्यवसायीले समस्या नपरी त पक्कै मूल्य बढाएका हैनन्।’ समस्या समाधान गर्न गरिएको पटकपटकको प्रयत्न असफल रहेकाले मूल्य बढेको उहाँको दाबी छ। व्यवसायी तथा उपभोक्ता दुवै मारमा परेकाले सरकारले आफूसँग भएको स्रोतको सदुपयोग गरी समस्या समाधान गर्नुपर्ने उहाँको सुझाव छ।

यस्तै बजारमा मूल्य बढ्नुको कारण क्लिंकरको समस्या मात्रै नभएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुप थापा बताउनुहुन्छ। उहाँका अनुसार अन्तर्राष्ट्रियरूपमा क्लिंकरको मूल्य बढ्नु, सिमेन्ट उद्योगमा आवश्यकताअनुसारको विद्युत् उपलब्ध नहुनु, इन्धनको मूल्य बढ्नु र ‘सिजनल भेरिएसन’ आदि मूल्यवृद्धिको अन्य कारण कारक हुन्। उहाँले भन्नुभयो– ‘क्लिंकर आयातमा समस्या देखिनु मूल्यवृद्धिको एक पाटो हो। तर, मूल्य निर्धारणका ‘ड्राइभ फ्याक्टर’ त्यहीमात्र होइन।’

अध्यक्ष थापाले भन्नुभयो– ‘पछिल्लो समयमा नेपाल सरकारले सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न पर्याप्त विद्युत् उपलब्ध गराउन सकेको छैन। त्यही कारण सिमेन्ट उद्योगले प्रतिदिन ७ देखि ८ घण्टा आफ्नै डिजेल प्लान्टबाट विद्युत् उत्पादन गर्दै आएका छन्। यिनै कारण सिमेन्ट उत्पादनको लागत बढेको छ।’ पछिल्लो समय इन्धनको मूल्य बढेका कारण सिमेन्ट ढुवानी लागतमात्र २० रुपियाँ प्रतिबोराको दरले बढेको थापाको भनाइ छ।

थापाका अनुसार हिउँद महिना निर्माण सामग्री विक्रीको सबैभन्दा उत्तम सिजन हो। यस समयमा सिमेन्टलगायत निर्माण सामग्रीको माग उच्च रहने हुँदा मूल्य पनि सोही अनुपातमा बढ्छ। उहाँले भन्नुभयो– ‘अफसिजनमा विक्री बढाउन सिमेन्ट कम्पनीले विभिन्न छुट स्किम दिने गर्छन्। सो समयमा हुने घाटापूर्ति गर्न माग धेरै भएको समयमा मूल्य बढाउने गरिन्छ।’ यिनै कारण सिमेन्टको मूल्य हाल ४० देखि ५० रुपियाँ प्रतिबोराको दरले बढेको थापा बताउनुहुन्छ।

हार्डवेयर व्यवसायीद्वारा मूल्यवृद्धिको विरोध
यमलाल भुसाल, बुटवल

छड तथा सिमेन्ट उद्योगले बिना कारण मूल्यवृद्धि गरेको भन्दै रूपन्देहीका हार्डवेयर व्यवसायीले मूल्यवृद्धि नियन्त्रणको माग गरी शनिबारदेखि व्यवसाय नै बन्द गरी आन्दोलन गर्ने भएका छन्।

छड तथा सिमेन्ट उद्योगले बिना कारण मूल्यवृद्धि गरेको भन्दै जिल्लाका हार्डवेयर व्यवसायीको संस्था रूपन्देही सिद्धार्थ निर्माण सामग्री व्यवसायी संघले बिहीबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन रूपमा व्यवसाय बन्द गर्ने निर्णय गरेका हुन्। जिल्लाका करिब १ हजार २ सय व्यवसायीले शनिबारदेखि व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

विगत एक सातादेखि रूपन्देहीका छड र सिमेन्ट उद्योगले बिना सूचना पीपिसी सिमेन्टमा प्रति ५० किलोको बोरामा १ सय ओपीपिसीमा १ सय २० र फलामे छडमा प्रतिकिलो १३ रुपियाँ मूल्यवृद्धि गरेको रूपन्देही सिद्धार्थ निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष सुनील मरासिनीले पत्रकार सम्मेलनमा बताउनुभयो।

उद्योगीहरूले बिना कारण मूल्यवृद्धि गरेपछि यसको प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर व्यवसायीमा परेको बताउँदै मूल्यवृद्धिको चौतर्फी विरोध भइरहँदासमेत सरोकारवाला निकायवाट अनुगमन, छानविन तथा मूल्य नियन्त्रण गर्नेतर्फ कुनै कदम नचालिनु अर्को आश्चर्यको विषय बनेको संघका अध्यक्ष मरासिनीले बताउनुभयो। ‘वर्तमान अवस्थामा नेपालमा लोडसेडिङ भइरहेको छैन, डलरको भाउसमेत बढेको छैन, वीरगन्जबाहेक अन्य नाकाबाट सहज रूपमा क्लिंङकर आयात भइरहेको छ भने भारतमा समेत क्लिंकरको भाउ बढेको छैन र अहिले स्वदेशमै प्रशस्त मात्रामा क्लिंकर मौज्दात रहेको संघको दाबी छ।

उद्योगीले वृद्धि गरेको मूल्यमा व्यवसायीले माल उठाउन नसक्ने र उपभोक्ताले समेत चर्को मूल्य तिरेर सामान खरिद गर्न नसक्ने भएकाले बाध्य भएर व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रिनु परेको अध्यक्ष मरासिनीले बताउनुभयो। व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिदा सरकारी, निजीलगायतका निर्माण आयोजनामा पर्न जाने प्रत्यक्ष असरप्रति सम्बन्धित पक्ष स्वयम् जवाफदेही हुनुपर्ने पनि दाबी छ।

यसैबीच रूपन्देही सिद्धार्थ निर्माण सामग्री व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा छड तथा सिमेन्ट उद्योगले बिनाकारण मूल्यवृद्धि गरेको र सोको नियन्त्रणको माग गरी ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा भनिएको छ–‘यस्तो अवस्थामा समेत उद्योगीले एकाएक मूल्यवृद्धि गर्नु आम उपभोक्तामाथि शोषण र अन्याय गर्नु हो भन्ने ठहर गरेको छ।’

प्रतिक्रिया दिनुहोस्