गोदाम घर निर्माणका लागि सम्झौता सम्पन्न

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
रेडक्रस सोसाइटी चाइना र नेपाल रेडक्रस सोसाइटीबीच केन्द्रीय गोदामघर निर्माणसम्बन्धी सहयोग सम्झौतामा विहिवार काठमाडौंमा संझौता भएको छ।

सम्झौतापत्रमा चाइना रेडक्रसका तर्फबाट चाइनिज रेडक्रसका उपाध्यक्ष वाङ हाइजिङ र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देवरत्न धाख्वाले हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार रेडक्रस सोसाइटी चाइनाको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघरको निर्माण हुँनेछ।

केन्द्रीय कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै चाइना रेडक्रसका उपाध्यक्ष वाङ हाइजिङले नेपाल रेडक्रसलाई गोदाम निर्माणका साथै अन्य क्षेत्रमा पनि सहयोग गर्न चाइना रेडक्रस तयार रहेको बताउनुभयो।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले नेपाल रेडक्रसले विपद्को लागि पूर्वतयारी गरे पनि २०७२ सालको भूकम्पको समयमा ठूलो मात्रामा सहयोग गर्न ठूलो गोदामघरको आवश्यकता महसूस भएपछि चाइना रेडक्रस समक्ष गोदाम निर्माणको लागि प्रस्ताव गरिएको बताउनुयो। उहाँले भूकम्पका बेला चाइना रेडक्रसले पुर्याएको आर्थिक र सामग्रीगत सहयोगको प्रशंसा पनि गर्नुभयो।

यस्तै सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रसको सन् २०२० सम्मको विकास योजना अनुसार यो गोदामघर निर्माण परियोजना प्रस्तुत गरिएको बताउनुभयो। प्रस्तावित भवनको विस्तृत डिजायन ३ महिना भित्र तयार हुने छ। रु. १३ करोडको लागतमा दुईवर्षभित्र गोदामघर निर्माण सम्पन्न गरी आवश्यक उपकरणहरूको समेत व्यवस्था गरिने जनाएकोछ।

रेडक्रस सोसाइटी चाइनाका उपाध्यक्ष वाङ हाइजिङको नेतृत्वमा नेपालको तीन दिने भ्रमणमा आएको प्रतिनिधिमण्डलले विहिवारै भक्तपुरस्थित गोदामघर निर्माण स्थलको अवलोकन समेत गरेको छ भने शुक्रवार काभ्रेका भूकम्प प्रभावित समुदायहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधिमण्डलमा चाइना रेडक्रसका डेपुटी डाइरेक्टर, इन्टरन्यासनल कोओपरशन डिभिजन प्रमुख सम्मिलित हुनुहुन्छ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधान, उपमहामन्त्री हरिप्रसाद न्यौपाने, भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश ढकाल, कार्यकारी निर्देशक इन्द्रबहादुर केसीलगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको नेपाल रेडक्रस सोसाइटीमा मानवीय महत्व र संचार विभागका प्रमुख दिब्यराज पौडेलले जानकारी गराउनुभयो।