रक्सौलमा रोकिएका र्याक भित्रिए

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज

भारतको रक्सौलमा बुकिङ भइसकेका क्लिंकरका र्याक नेपाल भित्रिएका छन्। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले बाटोमा अलपत्र परेका क्लिंकरका र्याक नेपाल भित्राइएको जानकारी दिनुभयो। भारतमा अलपत्र परेका सबै ९ वटा क्लिंकरका र्याक वीरगन्ज भित्राइएको उहाँले बताउनुभयो। यद्यपि, थप सिमेन्टका लागि आवश्यकपर्ने अन्य कच्चा पदार्थको आयात भने ठप्प नै रहेको उहाँले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

पछिल्लो समय नेपालमा सिमेन्ट उद्योगको संख्या बढेपछि ठूलो परिमाणमा औद्योगिक कच्चा पदार्थ रक्सौल यार्ड हुँदै आयात भइरहेको थियो। महिनाको १५ देखि २० र्याक क्लिंकरजस्ता औद्योगिक कच्चा पदार्थ रक्सौल यार्ड हुँदै आइरहेको भए पनि अहिले भने ठप्प छ।

रक्सौलका स्थानीयले सिमेन्टका कच्चा पदार्थले प्रदूषण बढेको भन्दै विरोध गर्दै आएका थिए। त्यसलाई समाधान गर्ने बहानामा भारतीय रेल्वे निगमले भारतीय कन्टेनर निगम लिमिटेड कन्कोरसँग परामर्श गरी गत डिसेम्बर २२ बाट क्लिंकरको कार्गो सिधैं वीरगन्जस्थित सुक्खा बन्दरगाहमा अनलोड गर्ने निर्णय गरेको थियो। तर, सुक्खा बदरगाहमा क्लिंकरलगायतका डस्टी कार्गो आयातमा सहज नभएको नेपाली व्यापारीहरूले बताउँदै आएका छन्।

बाटोमा रोकिएका औद्योगिक कच्चा पदार्थ आयात भए पनि नयाँ बुकिङ भने हुन सकेको छैन। भारतीय पक्षले एकपक्षीय रूपमा वीरगन्जस्थित सुक्खा बन्दरगाह व्यवस्था मिलाउने भन्दै रक्सौल र्याडमा लोड अनलोड गर्न रोक लगाएको छ। जसले गर्दा नयाँ बुकिङ हुन सकेको छैन। जसले गर्दा नेपाली र भारतीय पक्षबीच नयाँ सहमति नभएसम्म क्लिंकर आयातमा समस्या देखिएको हो। अझै सहज रूपमा क्लिंकर नेपाल आउन नसके वीरगन्ज पथलैया औधोगिक क्षेत्रमा सञ्चालित एक दर्जन सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेको नारायणी सिमेन्ट उद्योगका सञ्चालक सज्जन चाचानले बताउनुभयो।