सशस्त्र प्रहरी बलको लेखा शाखामा आगलागी प्रकरण मिलेमतोमा हेडक्वार्टरमा आगो



दीपक रिजाल, काठमाडौं
सशस्त्र प्रहरी बलको लेखा शाखाको स्टोरमा भएको आगलागीको नयाँ रहस्य सार्वजनिक भएको छ। लेखा शाखामा आगो लगाउने सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेपछि उक्त रहस्य सार्वजनिक भएको हो।

२०६८ सालदेखि आर्थिक प्रशासन शाखामा कार्यरत श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ लाख रुपियाँ अनियमिता गरेको अभियोगमा कारबाही अगाडि बढाइरहेका बेला आर्थिक प्रशासन शाखाका एसएसपी अभि खत्रीले हवल्दार श्रेष्ठलाई उक्त कागजात खोजी गर्ने जिम्मेवारी दिएका थिए।

आयोगले भ्रष्टाचार काण्डमा मुछिएका पूर्वआईजीपी कोषराज वन्त, सनत बस्नेत र शैलेन्द्र श्रेष्ठको मुद्दामा कागजात मगाएपछि उक्त काण्ड भएको हो। महानगरीय अपराध महाशाखाको हिरासतमा रहेका श्रेष्ठले दिएको बयानमा पुस २ गते एसएसपी खत्रीको निर्देशनमा सबै कागजात संकलन गरेर बलको मुख्यालयमा रहेको स्टोर शाखामा उक्त कागजात राखेको उल्लेख छ।

अख्तियारले पूर्वआईजीपीको मुद्दामा सक्कलै कागजात मागेपछि अख्तियारले नै अभियोग लगाएका हवल्दार श्रेष्ठलाई सबै एसएसपी खत्रीसहितको टोलीले कागजात संकलन गर्ने जिम्मेवारी दिएको थियो। सबै कागजात संकलन गरेका हवल्दार श्रेष्ठले स्टोरमा सामान राखेपछि एसएसपी खत्रीलाई खवर गरेका थिए।

एसएसपी खत्रीले उक्त फाइलमा संगठन प्रमुख सिंहबहादुर श्रेष्ठको हस्ताक्षर गरेरै मात्र बुझाउनुपर्ने भएकाले स्टोरमा नै ती कागजात राख्न निर्देशन दिएका थिए। प्रहरी हिरासतमा रहेका श्रेष्ठले पूर्वयोजना मुताविक स्टोर शाखानजिकै बिग्रिएको गाडीमा लुकाएर राखेको एक लिटर पेट्रोल छर्केर आगो लगाउने क्रममा आफ्नो बायाँ हात जलेपछि घटना बाहिर आएको बयान दिएका छन्।

हवल्दार श्रेष्ठले दिएको बयानमा स्टोर शाखामा आगो लगाएपछि हात जलेर घाइते अवस्थामा हेडक्वार्टरबाट भागेर नजिकै रहेको कोठामा गएर सामान्य उपचारपछि थप उपचारका लागि महाराजगन्जको त्रिवि शिक्षण अस्पताल पुगेको र त्यहाँ उपचार गर्दा हल्ला हुने भएपछि एसएसपी खत्रीको योजनाबमोजिम थप उपचारका लागि कीर्तिपुरमा रहेको मोडल अस्पतालमा गएको उल्लेख छ।

सशस्त्र प्रहरी बलकै गाडी प्रयोग गरेर कीर्तिपुर पुगेका श्रेष्ठको उपचारमा कालिनचोक गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कालिदास धौवजी लागेका थिए। स्टोर शाखामा आगो लगाउने क्रममा हात जलेर घाइते भएका श्रेष्ठको उपचारलाई गोप्यता दिएका एसपी धौवजीले सबै जानकारी एसएसपी खत्री, सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापा र पुष्पराम केसीलाई खबर गरेको उल्लेख छ।

प्रहरीलाई हवल्दार श्रेष्ठले दिएको बयानमा उक्त घटनामा संलग्न रहेका अन्य ७ जनालाई कार्यदल गणमा थुनेर राखेको जानकारी दिएपछि ती सबै व्यक्तिलाई महाशाखामा उपलब्ध गराइदिन आग्रह गरेको भए पनि सशस्त्र मुख्यालयले भने अहिलेसम्म कसैलाई पनि बुझाएका छैनन्। महाशाखाको टोलीले कार्यदल गणमा थुनामा रहेका ७ जनालाई नै हाजिर गराउन आग्रह गरेपछि एसएसपी खत्रीले सशस्त्र प्रहरी नायब निरीक्षक पुष्कर भण्डारी र सशस्त्र प्रहरी सहायक निरीक्षक नगेन्द्र रुचाललाई हिरासतमुक्त गराई अन्य ५ जनालाई मात्रै बुझाउने तयारी गरेको बताइएको छ।

आगलागीको घटनालाई गुपचुप राख्न खोजेको भए पनि उक्त घटना सार्वजनिक भएपछि एसएसपी खत्रीले अख्तियारले नै आरोप लगाएको व्यक्तिलाई किन उक्त कागजात संकलन गर्न दिए भन्ने बारेमा अनुसन्धान शुरू भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयमा सहसचिव कृष्ण राउतको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान शुरू गरेको छ। समितिमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक प्रेम शाही, नेपाल प्रहरीका डीआईजी गणेश केसी रहनुभएको छ। छानबिन समितिले पक्राउ परेका हवल्दार श्रेष्ठले दिएको बयानको आधारमा एसएसपी खत्रीलाई समेत छानबिनको दायरमा ल्याएको समितिका एक सदस्यले नेपाल समाचारपत्रलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्