स्थानीय निकायमा शिक्षाका कर्मचारीलाई हेला



ईश्वरराज ढकाल, काठमाडौं
ललितपुर महानगरपालिकाले ललितपुरका शिक्षा क्षेत्रमा कार्यरत कर्मचारी फिर्ता गरेको छ। ललितपुर महानगर कार्यपालिकाको १२औं बैठकले केही कर्मचारी राखेर प्रमुखलाई फिर्ता पठाएको हो। करिब ७ महिनाअघि शिक्षाको जिम्मेवारी लिएर ललितपुर महानगरपालिका हाजिर हुनुभएका उपसचिव हरि अर्याललाई महानगरपालिकाले फिर्ता गरेको छ। स्थान अभाव र महानगरका कर्मचारीको व्यवहारका कारण उहाँ केही दिनअघि शिक्षा विभागमा फिर्ता हुनुभएको हो।

स्थानीय सरकारले विद्यालय तहको शिक्षा हेर्ने उल्लेख भएपछि ललितपुरको जिम्मा पाएर महानगरपालिकामा हाजिर हुन पुग्नुभएका उपसचिव अर्याल कमजोर व्यवस्थापनका कारण फिर्ता हुनुभएको हो। कक्षा ८ को आधारभूत तहको परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको अवस्थामा कर्मचारी फिर्ता भएपछि कसरी परीक्षा सञ्चालन गर्ने? भन्ने विषयमा अन्योल उत्पन्न भएको छ। तर महानगरपालिकाले केही कर्मचारीको भरमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ।

‘कार्यालय प्रमुखले छाडे पनि अन्य कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्नेछौं।’ –महानगरपालिका–९ का वडा अध्यक्ष एवम् प्रवक्ता राजु महर्जनले भन्नुभयो। उहाँले कार्यपालिकाको निर्णयअनुसार हाललाई अन्य निकायका कर्मचारी फिर्ता गर्ने तयारी भएको जानकारी दिनुभयो। प्रदेश सरकार गठन भई प्रदेश कानुन आएपछि मात्रै थप निर्णय गर्ने तयारी भएको उहाँको धारणा थियो।

तर महानगरपालिकाका कर्मचारीले निजामति कर्मचारी स्थानीय निकायमा प्रवेश गर्दा पदमा समस्या पर्ने भन्दै कर्मचारी हटाएका हुन्। सामान्य प्रशासन मन्त्रालयले तयार गरेको समायोजन ऐनको आधारमा तयार भएको नियमावलीअनुसार स्थानीय तहमा छैठौं तहको अधिकृत तहको कर्मचारी हाजिर हुन गए स्वतः सातौं तह हुने र ती अधिकृतको सेवा प्रवेश भएको ५ वर्ष पुगेको भए आठौं तहको हुने व्यवस्था गरिएको छ। यद्यपि हालसम्म सो नियमावली पारित भएको छैन।

नियमावली पारित हुने अन्तिम चरणमा पुगेको छ। सोही नियमावलीअनुसार सेवा प्रवेश गरेको आठौं तहका उपसचिव स्थानीय तहमा गएमा स्वतः आठौं र ५ वर्ष सेवा अवधि पुगेको भए दशौं तह हुने व्यवस्था गरिएको छ।

त्यही कारण स्थानीय तहका कर्मचारीले आफूभन्दा माथिल्लो तहमा निजामती तहका कर्मचारी हुने भएकाले माथिल्लो तहका कर्मचारीलाई हाजिर नगराएको हुनसक्ने अनुमान गरिएको छ। यसअघि ललितपुर महानगरपालिकाले महालेखा परीक्षकको कार्यालयले खटाएका लेखा उपसचिव रुद्र कार्की, सहायक प्रशासकीय अधिकृतको रूपमा महानगरमा हाजिर हुन पुग्नुभएकी सीता रेग्मी, पञ्जीकरण शाखाका अधिकृत पुष्प खनाल, शिक्षा सेवाका प्राविधिक सहायक तुलसी ज्ञवाली, विद्यालय निरीक्षक शारदा राउत र एक जना लेखा अधिकृतलाई हाजिर गर्नै नदिएर फिर्ता पठाएको थियो।

शिक्षाका उपसचिव अर्यालले आफू भने सात महिनादेखि काममा खटिएको र महानगरपालिकाले बस्ने ठाउँ, प्रशासनिक र प्राविधिक काम नगरेको कारण आफै फिर्ता गएको दाबी गर्नुभयो। आफूले परीक्षा सञ्चालन र अन्य अधिकारका लागि महानगरपालिकामा पत्र पठाउँदा समेत बेवास्ता गरेको जानकारी बताउँदै महानगरका कर्मचारीको व्यवहारकै कारण आफू फिर्ता भएको बताउनुभयो।

शिक्षा उपसचिव अर्यालले स्थानीय निकायले प्राप्त गरेका २३ अधिकार र कक्षा ८ को परीक्षा सञ्चालन गर्ने नयाँ कार्याविधि तयार गरी महानगरमा पेस गर्दासमेत बेवास्ता गरेको उहाँको भनाइ थियो।
तर महानगरपालिका भने प्रदेश सरकारको कानुन नआएसम्म कुनै पनि कर्मचारीलाई हाजिर नगराउने मुडमा रहेको छ। हाल महानगरमा केही स्रोत व्यक्ति र दुई जना अन्य कर्मचारी रहेका छन्। पटक पटक सल्लाह गर्दासमेत आफ्नो विषयमा कुनै सुनुवाइ नभएको जनाउँदै आफ्नो अधिकारको रक्षा गर्न दरबन्दी रहेको शिक्षा विभागमा फर्किएको अर्यालले जानकारी दिनुभयो।

स्थानीय निकायको मातहतमा स्वाथ्य, सहकारी, कृषि, घरेलु, उद्योग, भेटेरिनरी, शिक्षा, नापीलगायतका झण्डै एक दर्जन कार्यालय आए पनि व्यवस्थापन गर्न सकेको छैन। ललितपुर महानगरपालिकाले उचित प्रदेश कानुन, सम्पत्ति हस्तान्तरणलगायतका विषयमा बखेडा झिक्दै अधिकांश कार्यालयका कर्मचारीलाई हाजिर गराएको छैन।

प्रतिक्रिया दिनुहोस्