सोलद्वारा जहाज जफत


सोल, (एजेन्सी)
दक्षिण कोरियाले गत महिना उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय नाकाबन्दी उल्लंघन गर्दै उत्तरलाई तेल आपूर्ति गर्न प्रयोग हुन लागेको आशंकामा हङकङमा दर्ता गरिएको एउटा जहाज जफत गरेको जनाएको छ।

अधिकारीहरुले लाइटहाउस विनमोर नामक सो जहाजले गोप्य ढंगले एउटा उत्तर कोरियाली जहाजलाई ६ सय टन तेल उपलब्ध गराएको जानकारी दिएका छन्। संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले प्योङयाङतर्फ गइरहेकोकुनै पनि जहाजलाई जहाजबाटै केही पनि वस्तु हस्तान्तरण गर्न प्रतिबन्ध लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध ढंगले उत्तर कोरियालाई चीनले तेल उपलब्ध गराएको भन्ने आरोप लगाएपछि यो घटना सार्वजनिक हुन पुगेको हो। सो जहाज प्रशोधित तेल भर्न ११ अक्टोबरमा दक्षिण कोरियाको यिओसु बन्दरगाहमा प्रवेश गरेको तथा चार दिनपछि भियतनामका लागि प्रस्थान गरेको योन्हाप समाचार निकायले जनाएको छ। तर भियतनाममा जानुसट्टा त्यसले एउटा उत्तर कोरियाली जहाजमा तेल ओसारेको जनाइएको छ।