चीनबाट उत्तर कोरियालाई तेल आपूर्ति भइरहेको खुलासा


म अत्यन्त निरास भएको छु ः ट्रम्प

वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले उत्तर कोरियालाई तेल पठाइरहेको समाचार बाहिर आएपछि आफू ‘अत्यन्त निरास’ भएको बताए।
एक ट्विटमा ट्रम्पले चीनलाई रंगे हात पक्रेको उल्लेख गरेका छन्। यदि उत्तर कोरियालाई तेल आपूर्ति गरिरहने हो भने कोरियाली संकटको कहिले पनि शान्तिपूर्ण समाधान हुन नसक्ने उनले बताए।

यसअघि चीनले उत्तर कोरियामाथि लगाइएका संयुक्त राष्ट्रको प्रतिबन्ध उल्लंघन गरेको आरोपलाई अस्वीकार गरेका थिए। गत हप्ता संयुक्त राष्ट्र संघले पारित गरेको नयाँ प्रतिबन्धअनुसार उत्तर कोरियाका लागि तेल निर्यात ९० प्रतिशतसम्म कम गरिएको थियो। चीनले अमेरिकाको उक्त प्रस्तावलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्मा समर्थन गरेका थिए।

ती प्रतिबन्ध उत्तर कोरियाका विवादास्पद ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई रोक्नका लागि लगाइएका हुन्। उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धलाई गलत भएको बताउँदै लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आइरहेको छ।

दक्षिण कोरियाली समाचारपत्र चोसुन इल्बोले चीनका तेल ट्यांकरले गोप्य रूपमा उत्तर कोरियालाई तेल दिइरहेको समाचार छोपेको थियो। उक्त समाचार आएपछि राष्ट्रपति ट्रम्पले चीनप्रति उक्त कडा टिप्पणी गरेको हो।

उक्त समाचारमा दक्षिण कोरियाली अधिकारीहरुलाई उद्धृत गर्दै अमेरिकी जासुसी भू–उपग्रहले अक्टोबरपछि करिब ३० पटक चीनका ट्यांकरले उत्तर कोरियालाई तेल दिँदै गरेको तस्वीर खिचेको उल्लेख गरेको छ।

अमेरिकी अधिकारीहरुले उक्त समाचारलाई पुष्टि गरेको छैनन् तर विदेश विभागका एक अधिकारीले रोयटर्ससँगको कुराकानीमा तेलको लेनदेख अहिले पनि भइरहेको हुनसक्ने संकेत दिएका छन्।
उत्तर कोरियाका मुख्य व्यापारिक सहयोगी देश चीनले पटक पटक उसले संयुक्त राष्ट्र संघका प्रतिबन्धको समर्थन गरेको जनाएको छ। चीनको रक्षा मन्त्रालयका प्रवक्ता रेन ग्वाकियाङले पत्रकारहरुलाई समाचारमा आएको जस्तो स्थिति कहीँ पनि नभएको बताए।

यसैबीच अमेरिकी विदेश विभागका प्रवक्ता माइकल केभीले सबै देशसँग उत्तर कोरियासँगको व्यापारिक सम्बन्ध समाप्त गर्न पुनः आह्वान गरेका छन्।

बिहीबार संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उत्तर कोरियाका चार जहाजलाई बन्दरगाह प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको छ। ती जहाजमा प्रतिबन्धित उत्पादन बोकेको हुनसक्ने आशंका गरिएको छ। अहिलेसम्म संयुक्त राष्ट्र संघले उत्तर कोरियाका ८ जहाजमाथि रोक लगाइसकेको छ।

उत्तर कोरियामाथि ताजा प्रतिबन्ध नोभेम्बर २८ मा गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको जवाफमा लगाइएको हो। अमेरिकाका अनुसार उत्तर कोरियाको उक्त क्षेप्यास्त्रले अहिलेसम्म सबैभन्दा अधिक उचाइ हासिल गरेको थियो। पछिल्लो प्रतिबन्धलाई लिएर उत्तर कोरियाले त्यसलाई युद्ध छेड्ने जस्तो कार्य भएको बताएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि उत्तर कोरियालाई बर्बाद पार्ने धम्की दिएका थिए। उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति मानसिक रुपमा रोगी भएको बताएका थिए।