प्रधानसेनापति क्षत्रीद्वारा दीक्षान्त कवाजको निरीक्षण

0
Shares

काठमाडौं, (नेस)
प्रधानसेनापति राजेन्द्र क्षत्रीले शुक्रबार मोरङको याङशिलास्थित कालीबक्स गणमा राष्ट्रिय सेवा दलद्वारा सञ्चालन भइरहेको सिसं ४४ जुनियर डिभिजन, वार्षिक सामूहिक तालिम क्याम्पका प्रशिक्षार्थीहरूको दीक्षान्त कवाजको निरीक्षण गर्नुभएको छ।

सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय सेवादलले सञ्चालन गरेको तालिममा छनोट भई १ सय दिन अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित हुुनुभएका क्याडेट छात्र÷छात्राहरूलाई बधाई दिँदै तालिमको दौरान हासिल गरेका सामान्य सैनिक कला, विपद् व्यवस्थापन, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक दायित्व तथा अनुशासनसम्बन्धी ज्ञानले अनुशासित, मर्यादित मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुको साथै विपत्तिहरूको समयमा स्वयंसेवकका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको थियो।

निरीक्षण भ्रमणकै सिलसिलामा प्रधानसेनापति क्षत्रीले शुक्रबार नै इलामस्थित पशुपतिप्रसाद गण र झापास्थित कालीबहादुर गणको निरीक्षण भ्रमण गर्नु भई उक्त गणहरूको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नुभएको थियो।