नेपाल समाचारपत्र
भक्तपुर
एमालेका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भइरहेकोमध्ये ५० प्रतिशत अपराध न्यूनीकरण गर्ने दाबी गर्नुभएको छ।
रफत सञ्चार क्लबमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनीकरणको उपाय आफूसँग भएको र त्यही कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनीकरण जुनसुकै मन्त्रीले गर्न सक्ने दाबी गर्नुभयो।
हरेक मन्त्रीले पाएको जिम्मेवारी इमानदारीका साथ निर्वाह गर्न सके देशले १० वर्षमै कुशल विकासको फड्को मार्न सक्ने बताउँदै मन्त्रीले सफलतापूर्वक इमानदार भएर काम गरे विदेशमा भएका युवाहरूलाई स्वदेशमै काम दिएर विदेशबाट आएको रेमिट्न्यासले देश चलाउने कामको अन्त्य हुने बताउनुभयो। उहाँले २० वर्षमै नेपाललाई दातृ राष्ट्रको रूपमा समेत विकास गर्न सकिने दाबी गर्नुभयो।
उहाँले राष्ट्रियसभाको विधेयक एक दुई दिनभित्र नै राष्ट्रपतिद्वारा सहमतिका आधारमा वा संशोधनबाट पारित हुने जानकारी दिँदै राष्ट्रपतिलाई विवादमा तान्ने काम गलत भएको बताउनुभयो।
प्रदेशको राजधानीका विषयमा बृहत् छलफल भइरहेका कारण जनताको भावना अनुसार नै प्रदेशसभाले तोकिने जानकारी दिँदै उहाँले प्रदेश राजधानी बनाउनुभन्दा पहिला व्यापक छलफल गरेर मात्र कामलाई अघि बढाए त्यसको सकारात्मक प्रभाव भोलिकोे पिँढीले अनुभूत गर्ने बताउनुभयो।
वाम गठबन्धनको एकीकरण पदको कारणले नभएर दुवै पार्टीको नेतृत्वको सहमतिअनुसार सबै पद बाँडफाँडपश्चात् पार्टी एकीकरण हुने भन्दै उहाँले माघ ७ गतेभित्रै नयाँ सरकार गठन हुने र त्यसको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताउनुभयो।











प्रतिक्रिया