मन्त्रिपरिषद् बैठकमा हंगामा, तपाईं राजीनामा दिनुहोस् म स्वीकृत गरिदिन्छुः थापा



काठमाडौं, (नेस)
मन्त्रिपरिषद्को बैठकमा सचिवले असहयोग गरेको भन्दै शहरी विकासमन्त्री दिलनाथ गिरीले आफ्नो मन्त्रालयको सचिव परिवर्तन गर्ने प्रस्ताव गरेपछि मन्त्रिपरिषद्को बैठकमा हंगामा भएको छ।

मन्त्रिपरिष्दको बैठकमा मन्त्री गिरीले शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आफूलाई पूरै असहयोग गरेको भन्दै असन्तुष्टिसहित सचिव परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेपछि उपप्रधान एवम् ऊर्जामन्त्री कमल थापाले आपत्ति जनाउनुभएको थियो।

मन्त्री गिरीले अडानका साथ सचिवले जनताको काम गर्नुको सट्टा होटलहोलटमा ठेकेदारसँग मिलेर ठेक्कापट्टा मिलउन लागेको भन्दै थप आक्रोशित भएपछि दुई मन्त्रीबीचको विवादले उग्र रूप लिएको एक मन्त्रीले बताए। ती मन्त्रीले नेपाल समाचारपत्रसँग भने– ‘शहरी विकास मन्त्रालयका सचिवको विषयले बैठकमा निकै ठूलो रूपलियो, प्रधानमन्त्रीलाई समेत सम्हालन गाह्रो भो।’

उप्रधानमन्त्री थापाले मन्त्री गिरीले सचिव परिवर्तन गर्ने प्रस्ताव गर्नासाथ आपत्ति जनाउँदै यदि काम गर्न नसक्ने हो भने मन्त्री पदबाट राजीनामा दिने निर्देशन दिनुभएको थियो। एक मन्त्रीले थापाको भनाइ उद्धृत गर्दै भन्नुभयो– ‘शहरी विकास मन्त्रालयका सचिव परिवर्तन हुँदैन, काम गर्न नसक्ने हो भने राजीनामा गर्नु हो, म अहिले नै स्वीकृत गरिदिन्छु।’

मन्त्री गिरीले आफूले मन्त्रीको हैसियतमा गर्न पाउनुपर्ने काम गर्न किन नपाउने भन्दै मन्त्री थापालाई प्रश्न गर्नुभएको थियो। मन्त्री गिरीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने– ‘सचिव रक्सी खाएर कार्यालय नै आउँदैनन्, मैले भनेकै मान्दैनन्, यस्तो पनि हुन्छ, काम नगर्ने सचिवलाई परिवर्तन गर्न पनि नपाउनु ?’ सचिवहरूले सहयोग गरेको विषयमा छलफल हुँदा थापाले हस्तक्षप गर्दै शहरी विकासमन्त्री गिरीलाई असयोग गरेको विषय मन्त्रीपरिषद्मा ल्याउन नहुने भन्दै धम्की दिनुभएको थियो।

बैठकमा सचिवहरूलाई मुख्य सचिवले असहयोग गर्न निर्देशन दिएको भन्दै मुख्य सचिवको कार्यशैलीप्रति पनि मन्त्रीहरूको प्रश्न उठाएका थिए। यस बारेमा शहरी विकास मन्त्री दिलानाथ गिरीसँग सम्पर्क गर्दा मन्त्रीपरिष्दको बैठकको बारेमा आफूले कुनै प्रतिक्रिया नदिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्