जाँदाजाँदै सरकारले दियो पीडितलाई राहत



काठमाडौं, (नेस)
सरकारले क्यान्सर, मृगौला र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ।

वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठनको चर्चा भइरहेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार जनतामाझ लोकप्रिय बन्ने कदमका रूपमा सो निर्णयलाई लिइएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ता बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन ५ हजार रुपियाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो।

अहिले सरकारले क्यान्सर, मृगौला र स्पाइनल इन्जुरीलगायत जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको छ। स्वास्थ्य मन्त्रालयले यी बिरामीका लागि दिने भनिएको रकम चुरोट तथा सुर्तीजन्य पदार्थ र मदिरामा थप कर लगाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो। मन्त्रिपरिषद्ले सोही प्रस्ताव पास
गरेको हो।

सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि १ लाख रुपियाँ सहयोग गर्दै आएको छ।

यस्तै मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोपणअगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि १ लाख रूपियाँ उपलब्ध गराउँदै आएको छ।

बैठकले डा. पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै रानीपोखरी पुनर्निर्माणमा देखिएको विवाद समाधानका लागि पुरातत्त्व विभागले स्वीकृत गरेको मल्लकालीन शैली (मापदण्ड) बमोजिम नै निर्माण गर्न निर्देशन दिने निर्णय गरेको सञ्चार मन्त्री बस्नेतले बताउनुभयो।

बैठकले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको प्रथम चरणको असल अभ्यासलाई संस्थागतरूपमा सञ्चालन गर्दै यसलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले विश्व बैंकले दोस्रो चरणका लागि दिने ६ अर्ब २१ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्