जाडो बढेसंगै न्यानो कपडा र सिरक डसनाको कारोवार बढ्यो



रविन भट्टराई, ताप्लेजुङ । जाडो महिना सुरु भए सँगै ताप्लेजुङमा न्यानो कपडा र सिरक डसनाको कारोबारमा समेत बृद्धि भएको छ ।

जोडोमा प्रयोग गरिने शिरक डसनाको व्यापार बढ्न थालेपछि ताप्लेजुङका व्यापारीहरुलाई दिनहुँजसो नयाँ तथा पुराना सिरक डसना बनाउन भ्याइ नभ्याई भएको छ ।

व्यापारीहरुले डस्नाका लागि पुराना फाटेका थोत्रा कपडालाई मेशीनमा पेलेर कपास बनाउने गरेका छन् भने सिरकको लागि नेपालमै उत्पादित कपासको प्रयोग गर्दै आएका छन् ।

केही कपास भने भारतबाट समेत आयात गर्ने गर्दछन् । एउटा सिरक बन्नका लागि ४ देखि ५ किलोसम्म कपास लाग्ने भएपनि ग्राहकको माग अनुसारको सिरक डसना बनाउने गरेको व्यापारीले बताएका छन् ।

व्यापारीका अनुसार एक जोर डस्ना र सिरकको खोलसहित १ हजार देखि ४ हजार रुपैयाँसम्म पर्ने गरेको छ । विगतको समयमा देशका विभिन्न ठाउँदेखि भारतबाट आयात गर्नुपर्ने सिरक एवं डसना अहिले व्यापारीहरुले घर घरमै बिक्रि वितरण गर्न थालेका छन् ।

सिरक एवं डसना बनाउनका लागी नेपाली कपासको माग पनि बढेको छ । एउटा सिरक बनाउन ४ देखि ५ किलोसम्म कपासको प्रयोग हुने भएकाले जाडोको समयमा कपासको माग उच्च हुने गरेको कपास व्यावसायी राजमणी मिश्रको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्