ओली–दाहाल वार्ता : केके विषयमा भयो छलफल ?



पुष्कर बुढाथोकी, भक्तपुर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।करिब डेढ घण्टा भएको भेटका क्रममा दुई अध्यक्षबीच पार्टी एकता,नयाँ सरकार निर्माण र राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशबारे गंभीर छलफल भएको बताईएको छ ।
भेटपछि संचारकर्मीलाई प्रतिकृया दिंदै अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले पार्टी एकताको बारेमा बाहिर आएका हल्ला गलत भएको र यसमा कुनै समस्या नरहेकोमा उहाँहरुबीच एकमत रहेकोले यसलाई छिटो टुंगोमा पुर्याउने बारे छलफल भएको बताउनुभयो ।
भेटका क्रममा नयाँ सरकार गठनका लागि सरकारले तुरुन्त बाटो खोलिदिनुपर्ने बारेमा दुई अध्यक्षको एक मत रहेको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो,‘अहिलेको सरकारले नयाँ सरकार गठनको बाटो तुरुन्त खोलिदिनुपर्छ ,अध्यादेशको गाँठो सरकारले छिटो फुकाउनुपर्छ र निर्वाचन आयोगले देखिएका ब्यबधान फुकाएर लैजानुपर्छ भन्ने बारेमा छलफल भएको छ ’।
पार्टी एकता संयोजन समितिको बैठक थप छलफल पछि भोली बस्ने बारे समेत छलफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘थप छलफल पछि ठोस एजेण्डा तय भए पछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने उहाँहरुबीच कुराकानी भएको छ । ’
अब बन्ने एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने, नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।
भेटमा दुई अध्यक्ष मात्र सहभागी हुनुहुन्थ्यो ।यस अघि मंगलबार नै उहाँहरुबीच भेटवार्ता हुने भनिए पनि आज मात्र बार्ता भएको हो । भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्