सम्झौता भित्र पुनर्निमाणको काम नहुदा विमान उड्ने अनिश्चित



शिवहरीप्रसाद भट्टराई, राजविराज । वर्षाैैदेखि अलपत्र अवस्थामा रहेको राजविराज विमानस्थल एक वर्ष भित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउनेगरी निर्माण कार्य अघि बढाईएपनि अपेक्षा अनुसार काम हुन नसक्दा तोकिएको समय सिमा भित्र कार्य सम्पन्न हुन् सकेन ।
मंसिर मसान्तभित्र सक्नुपर्ने विमान स्थल धावन मार्गको निर्माण कार्य समय सीमा पार गर्दापनि सम्पन्न हुन नसक्दा स्थानीयबासी निराश भएका छन् । राजविराज विमानस्थलको कच्ची धावन मार्गका कारण विगत नौ वर्षदेखि यहाँ हवाई सेवा सञ्चालन हुन सकेको छैन । ३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुपैयाँ (भ्याट सहित) को लागतमा सुरु गरीएको धावन मार्ग ग्राईभेल र पिचिङ्ग गर्ने कामको राजधानीका कान्छाराम एण्ड रौहतास कन्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ ।
२०७३ मंसिर ८ गतेदेखि सुरुभएको काम २०७४ मंसिर मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गर्ने म्याद रहेपनि वर्ष दिन पार गरी सक्दा पनि पिचिङ्गको काम अझ सुरु हुन सकेको छैन् । कुल १ हजार ५ सय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावन मार्ग, ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा १ सय ५ मिटर लामो र २० मिटर चौडा ट्क्यासी वे मा माटो, ग्राईभेल, सबबेस र घेरबारको कार्य सकिए पनि पिचिङ्गको काम अझ सुरु हुन सकेको छैन् ।
वर्ष दिन वित्दापनि निर्माण कार्यले गति लिन नसकेकोमा चिन्ता व्यक्त गर्दे सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले यसलाई तिव्रता दिनुपर्ने माग गरीएको छ । उनले भने ‘ गएको असोज कातिकमै यसको निर्माण कार्य पूराहुनुपर्ने थियो तर गति लिन नसक्नु चिन्ताको विषय हो ।’
विमानस्थलको स्त्तारोन्नति पछि नियमित विमान सेवा सुरु हुने र जिल्लाको विकासमासमेत साकारात्मक परिवर्तन आउने आशमा बसेका सप्तरीबासी निर्माण कार्यमा भईरहेको ढिलाईले निराश भएका छन् । त्यसैले अब ढिलाई गर्नुहुन्न बाँकी काम तिब्रगतिमा अघि बढाउनुपर्छ उनले भने ।
विमानस्थलसम्म पुग्ने ९ सय मिटर सडक खण्ड र कार्यालय भवन पनि अत्यन्त जिर्ण भएकाले धावन मार्गसँगै त्यस्ता संरचनाको पनि जिर्णाेधार गर्नुपर्ने उनको भनाई छ ।
पूर्व जिल्ला विकास समिति सप्तरीका सभापति सचिन्दर यादवले राजविराज विमानस्थल सप्तरीको मात्र नभई सगरमाथा अञ्चलकै विकासको लागि महत्वपूर्ण हुने हुँदा यसको अबिलम्ब निर्माण कार्य सकाई सञ्चालनमा ल्याउनुपर्ने बताए ।
कामको ठेक्का पाएका कान्छाराम एण्ड रौहतास कन्ट्रक्सन कम्पनिका इन्जिनियर जितेन्द्र यादवले निर्माण कार्य केही सुस्त भएको स्वीकार्यर्दे यसका लागि मधेश आन्दोलन, निर्वाचन र मौसम कारक भएको बताए । उनले भने, ‘मधेश आन्दोलनका क्रममा बन्द हडतालले निर्माण सामाग्री र उपकरण ओसार पोसारमा समस्या भयो, त्यसपछि गत साउन अन्तिम साताको बाढीले पनि समस्या पा¥यो ।’ यतिमात्र होईन स्थानीय तह र प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले पनि निर्माण कार्यलाई प्रभावित बनायो ।
इन्जिनियर यादवले पिचिङ्गको काम सुरु गर्न २० डिग्री भन्दा माथिको तापक्रम उपयुक्त हुने र अहिले १० देखि १२ डिग्रीसम्म मात्र भएकाले पिचिङ्ग टिकाउ नहुने भएकाले केही पर्खेर काम थालने योजना रहेको बताए । आफूहरु फागुन चैत्र महिना भित्र काम सब्नका लागि पर्यतनरत रहेको जनाउदिँदै उनले भने ‘पिचिङ्गका लागि फागुन चैत्रको महिना र समय उपयुक्त हुन्छ, हामी त्यस अबधि भित्रै काम पूरा गर्छाै ।’
सप्तरी सदरमुकाम राजविराजसँग टाँसिएका विष्णुपुर गाउँपालिकामा अवस्थित राजविराज विमानस्थलको २०१६ सालमा तात्कालिन उद्योग मन्त्री गणेशमान सिंहद्धारा शिलान्यास गरिएको थियो । त्यसपछि पटक–पटक विमान सेवा सञ्चालनमा आएपनि धावन मार्ग पक्की नहुँदा सेवा बन्द हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्