हारेका ‘डन’ हेलिकप्टरमा सरर..



मोतीराम तिमल्सिना, काभ्रे । सम्पति शुद्धीकरण अभियोगमा अनुसन्धान भईरहेकै बेला फोरम नेपाली कांग्रेसमा प्रवेश गरेपछि जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्वर १ को प्रदेश सभा २ बाट टिकट प्राप्त गरेका चर्चित डन गणेश लामा निर्वाचनमा भारी मतले पराजय ब्यहोरेपछि हेलिकप्टर बोकेर मतदातालाई धन्यवाद दिन डाँडापारी पुगेका छन् ।
निर्वाचनमा पराजय ब्यहोर्दा त हेलिकप्टर लिएर गाउँ डुल्ने डन गणेश लामाले विजयी हुन कति रकम खर्च गरे होलान् ? स्थानीय मतदाताहरुले प्रश्न गरेका छन् । झण्डै ५ करोड खर्च गर्दा समेत निर्वाचनमा विजय हुन नसकेका लामाले पार्टीका पुराना र स्थापित नेताको टिकट खोसेको आरोप छ । माओवादी शशस्त्र द्वन्द्वका बेला गोली लागी घाईते भएका पनौतीका पृुराना नेता तीर्थ पसखलले प्राप्त गरेको टिकट उम्मेदवारी दर्ता गर्ने दिनमै बालुवाटार पुगेर लामाले हात पारेका थिए । पार्टी सभापति शेरबहादुर देउवा निकट पसखललाई टिकट नदिएपछि गुण्डा भनेर चिनिने लामाको पक्षमा जनमत खस्किएको आरोप त्यतिबेलै लागेको थियो ।
सोमबार विहान ११ बजे देखि दिउसो ४ बजेसम्मका लागि रिजर्भ गरिएको हेलिकप्टर एयरपोर्टबाट सिधै खानीखोला गाउँपालिकाको ताल्ढुंगामा रोकिएको थियो । हेलिकप्टरमा पुर्व सभापति शिवप्रसाद हुमागाई, उम्मेदवार गणेश लामा र तिर्थ लामा सहितका केहि कार्यकर्ता समेत रहेका थिए । ‘निर्वाचनमा पराजय भोग्दा समेत हेलिकप्टर लिएर मतदातालाई धन्यवाद दिन पुगेका नेताहरुको सम्पतिको श्रोत के हो ?’–साल्मेचाकलका स्थानीय हरि मगरले भने–‘त्यो खर्च विकास निर्माणमा लगाएको भए डाँडापारीको मुहार फेरिन सहयोग पुग्दथ्यो ।’
डाँडापारी पुगेर नेताहरुले विगतका आश्वासनलाई पुरा गर्न प्रयास गर्ने बताए । निर्वाचनमा पर्याप्त मत नपाए पनि जनताको घर दैलोमा आएको बताए । डाँडापारीका १० गाविसका सबै बस्तिहरुमा निर्वाचन अघि पुगे पनि निर्वाचनमा पराजय भोगेकाले केन्द्रिकृत कार्यक्रममा मात्रै सहभागि भएको नेताहरुले बताए । हेलिकप्टर हेर्न स्थानीयहरुको घुईचो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्