म्यादी प्रहरी मृत्यु प्रकरण, अनिश्चित्कालीन कफ्र्यु



कालीबहादुर मल्ल, कालिकोट

प्रहरीले चलाएको गोली लागेर शुक्रबार मृत्यु भएका रास्कोट नगरपालिका–२ का म्यादी प्रहरी विवेक ऐडीलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीय र म्यादी प्रहरीले शनिबार बिहानैदेखि हिंसात्मक आन्दोलन गरेपछि स्थानीय प्रशासनले अनिश्चित्कालीन कफ्र्यु लगाएको छ। जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र सदरमुकाम नजिकैको कर्णाली राजमार्गमा आन्दोलनकारीले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

दिनभर दोहोरो झडप भएको र आन्दोलनका क्रममा थप क्षति हुन थालेपछि प्रहरीले अनिश्चित्कालीन कफ्र्यु लगाएको हो। झडपमा परी खाडाचक्र नगरपालिका–१ की पवित्रा शाही र पार्वती शाही घाइते भएका छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीले शुक्रबार आफूले पाउने तलब र अन्य सुविधा कम भएको भन्दै आन्दोलन गरेपछि प्रहरीसँग झडप भएको थियो। म्यादी प्रहरीको आन्दोलनलाई दबाउन प्रहरीले केही राउन्ड अश्रुग्याँस प्रहार गरी म्यादी प्रहरीको भीडलाई तितरबितर पार्ने प्रयास गरे पनि म्यादीको भीडले जिल्ला प्रहरी कार्यालयमा नाराबाजी गरेपछि गोली चलाएको आरोप आन्दोलनरत म्यादी प्रहरीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बापतको अन्तिम किस्तामा ८ हजार रूपियाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए।

प्रतिक्रिया दिनुहोस्