कालीकोटमा कर्फ्यू, दुई दर्जन घाइते



कालीकोट । म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ ।

धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा २० जनाभन्दा बढी स्थानीयवासी र एकजना प्रहरी घाइते भएका छन् ।

स्थिति तनाबग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नहुन्जेलसम्मका लागि जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेको छ ।  घटनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, राजनीतिक दल नागरिक समाज र प्रशासनबीच छलफल भए पनि कुनै सहमति नभएको नागरिक समाजका अगुवा एवं सञ्चारकर्मी रत्न कार्कीले जानकारी दिए । पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्तिको व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् ।

प्रशासनले सबै माग आफूहरूले पूरा गर्न नसक्ने र कतिपय निर्णय मन्त्रालयले गर्नुपर्ने भएकाले मागका बारेमा पुस ९ गते आइतबार बिहानसम्म पर्खन आग्रह गरेबमोजिम  पुस ८ गतेको छलफल सकिएको उनले जानकारी दिए  ।

छलफलका लागि सुर्खेतबाट क्षेत्रीय प्रशासक सुरेश प्रधान, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सूर्यविक्रम शाह, अनुसन्धानका प्रहरी नायब महानिरीक्षक टेकेन्द्र शाक्यसमेत कालिकोट पुगेका थिए  ।

क्षेत्रीय प्रहरी प्रमुखले स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि भएपनि प्रतिरक्षाका लागि अश्रुग्यास प्रयोग गरिएको बताए  ।  पुस ७ गते शुक्रबार तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको जुलुसमा प्रहरीले जथाभावी गोली चलाउँदा म्यादी प्रहरी शान्नि त्रिवेणी गाउँपालिका–४ का विवेक  ऐडीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्