आफ्नै बलबुताले अर्बपति

0
Shares

काठमाडौं, (नेस) ।
डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उनले गठन गरेको आर्थिक सल्लाहकार समिति (इकोनोमिक एड्भाइजरी कमिटी) मा डायन हेन्ड्रिकको नाम पनि समावेश भएपछि उक्त नामलाई विश्वले थप सोधखोज गरेको थियो।

एक मध्यमस्तरीय ग्रामीण परिवारमा जन्मेर सफल उद्यमीको पहिचानसँगै अमेरिकी संसदको आर्थिक सल्लाहकार समिति सदस्यसम्मको यात्रालाई धेरैका लागि प्रेरणाको आधार बन्यो।

डायन हेन्ड्रिकले आफ्नै जोडबल र स्वउद्यममार्फत् सफलता पाएकी हुन्। फोब्र्सले उनलाई स्वउद्यम र आफ्नै प्रयासमा सफलता पाउने महिलाका सूचीमा पहिलो नंम्बरमा राखेको छ। एक डेरी किसानका रूपमा काम गर्ने दम्पतीको नौ जना सन्तानमध्ये सातौं सन्तान थिइन उनी। उनको परिवार अमेरिकाको विस्कन्सिन राज्यको ग्रामीण भेगमा बस्थ्यो। उनले आफ्नो बाल्यकाल सम्झिदै एक अन्तर्वार्ताका क्रममा आफूले सधैं शहरीया जीवनका बारेमा सोच्ने गरेको बताएकी थिइन। ‘मसँग आफ्नै प्रकारको जीवनशैली थियो। चिटिक्क परेको सेतो रङको घर र ग्रामीण फार्ममा बसेर जीवन व्यतित गर्थे। तर, म सधैं शहरीया जीवनका बारेमा सोच्थे र चिटिक्क परेको सुट लगाएर शहर घुमेको कल्पना गर्थे।’सन् १९४७ मा जन्मिएकी हेन्ड्रिकले सन १९७५ मा केनेथ हेन्ड्रिकसँग विवाह गरेकी थिइन।

एक डेरी किसान दम्पतीको नौ जना सन्तानमध्ये सातौं सन्तान थिइन उनी। उनको परिवार अमेरिकाको विस्कन्सिन राज्यको ग्रामीण भेगमा बस्थ्यो। उनले आफ्नो बाल्यकाल सम्झिदै एक अन्तर्वार्ताका क्रममा आफूले सधैं शहरीया जीवनका बारेमा सोच्ने गरेको बताएकी थिइन।

विवाहपछि सन १९८२ मा श्रीमानसँगै मिलेर एबीसी सप्लाई कम्पनीको रूपमा ‘रुफिङ’ व्यवसाय शुरू गरेका थिइन। भवन निर्माणका क्रममा छत तथा सिलिङ निर्माणको काम गर्ने उक्त कम्पनीले केही समयमा नै चर्चा कमाउन सफल रह्यो। विषेश गरी सिलिङमा प्रयोग गरिने रङ संयोजनका कारण एबीसी सप्लाईले सबैको मन जितेको थियो।
सन् २००७ मा उनका श्रीमान केनेथको निर्माणाधीन भवनबाट खसेर मृत्यु भयो भने हेन्ड्रिक माथि थप जिम्मेवारी पनि आइलाग्यो। तर, उनले हिम्मत हारिनन् र सन् २०१० मा एबीसी सप्लाई कम्पनीको शतप्रतिशत शेयर आफ्नो स्वामित्वमा लिन सफल भइन्।

रुफिङ कम्पनी एबीसी सप्लाईको सेवा तथा वितरण प्रणालीलाई उनले निकै ध्यान दिएकी थिइन। कम्पनीका कुशल व्यवस्थापन तथा कार्यशैलीका कारण नै एबीसी अमेरिकाको सबैभन्दा ठूलो रुफिङ होलसेलरका रूपमा चिनिएको छ।

फोब्र्सको अर्बपति सूचीमा हेन्ड्रिक १ सय २२औँ स्थानमा छन् भने सेल्फ मेड वुमेनको क्याटेगोरीमा पहिलो नंम्बरमै छिन्। उनको सफलतालाई मानिसले अझै पनि अपत्यारिलो र अद्भूतको संज्ञा दिने गरेका छन्। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार डायन हेन्ड्रिक विश्वका अर्बपतिहरूको सूचीमा २ सय ४५औं स्थानमा छिन। हेन्ड्रिकको सम्पत्ति ६ दशमलव ६७ बिलियन अमेरिकी डलर रहेको छ।

हेन्ड्रिकले आर्थिक विकास र शिक्षा क्षेत्रको विकासका लागि सहयोग गर्दै आएकी छिन्। रिपब्लिकन नेसनल कमिटीमा पनि रहेकी हेन्ड्रिकले सन २०१२ मा विस्कन्सिन गभर्नर स्कट वाल्करको ‘रिइलेक्सन क्याम्पियन’का लागि ५ लाख अमेरिकी डलर सहयोग गरेकी थिइन्। जुन रकम अमेरिकी इतिहासमा गभर्नर छनोटका लागि गरिएको चुनावमा कुनै व्यक्तिले उपलब्ध गराएको सबैभन्दा ठूलो धनराशी हो।

हेन्ड्रिकको यातायात, बीमा, उत्पादन तथा रिसाइकलिङका क्षेत्रमा पनि लगानी रहेको छ। हाल उनी उनकै नामबाट खोलिएको अर्को कम्पनी हेन्ड्रिक होल्डिङ कम्पनीको बोर्ड अध्यक्ष र एबीसी सप्लाई कम्पनीको सहसंस्थापक तथा अध्यक्षको रूपमा काम गरिरहेकी छिन्।