म्याग्दी भ्रमण वर्ष–२०७५

0
Shares

प्रताप बानियाँ, म्याग्दी । आगामी वर्ष अर्थात् वि.सं. २०७५ साललाई म्याग्दी भ्रमण वर्षको रुपमा म्याग्दी उद्योग वाणिज्य संघले मनाउने भएको छ । म्याग्दी महोत्सव–२०७४ को पूर्वसन्ध्यामा म्याग्दी उद्योग वाणिज्य संघको बैठकले आगामी २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको संघका महासचिव लिलाराम गौतमले बताए । विगतमा पनि बेनी भ्रमण वर्षका रुपमा मनाउने भनेर चर्चा भएता पनि म्याग्दी उद्योग वाणिज्य संघ आफैले अगुवाई गर्दै आगामी वर्षलाई ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ का रुपमा मनाउने निर्णय गरेको जनाएको छ ।
आम जनताको सल्लाह र सुझावलाई मध्यनजर गर्दै आगामी वर्षलाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाउन लागिएको म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । उनले भने, समग्र म्याग्दी जिल्लाको पक्षमा काम गर्नका लागि सबैको सल्लाह र सुझाव लिँदै अगाडि बढ्नु नै उचित हुने भएकाले आम जनताको सुझवलाई शिरोपर गर्दै यो निर्णय गरिएको हो । म्याग्दी जिल्लामा पर्यटकीयस्थलहरु धेरै रहेका छन्, ती पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारको रुपमा म्याग्दी महोत्सवलाई प्रयोग गर्ने उद्देश्यसहित यही महोत्सवमा भ्रमण वर्षको घोषणा पनि हुने वरिष्ठ उपाध्यक्ष कटुवालले बताएका छन् ।
म्याग्दीको धौलागिरी, अन्नपूर्ण हिमाल, अन्धगल्छी, रुप्से झरना, गूर्जा हिमाल, लभ्लीहिल, केभहिल, रामायण पार्क, पौलस्त्य क्षेत्र, गलेश्वरधाम, टोड्के, मालिका मन्दिर लगायत जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै २०७५ सालमा म्याग्दीमा आन्तरीक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी जिल्लामा भिœयाउने लक्ष्यका साथ म्याग्दी उद्योग वाणिज्य संघ अगाडि बढ्ने जनाइएको छ ।
यसैबीच उद्योग वाणिज्य संघको बैठकले म्याग्दी महोत्सव २०७४ का लागि प्रत्येक टोल सुधार समितिलाई बजार सजावटका लागि पाँचहजार रुपैयाँका दरले सहयोग प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै महोत्सवको अवसरमा निकालिने झाँकीलाई लक्षित गरी जातजातिका भेषभूषा तथा झाँकी प्रदर्शनीका लागि विगतका वर्षहरुमा प्रदान गरिँदै आएको पुरस्कारको रकममा समेत वृद्धि गरेको छ । झाँकी प्रदर्शनीमा पहिलो हुनेलाई १२ हजार रुपैयाँ र दोस्रो हुनेलाई ८ हजार तथा तेस्रो हुनेलाई पाँचहजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै महोत्सवको ¥यालीमा झाँकीका साथ सहभागी हुनेलाई ४ हजार रुपैयाँ प्रदान गरिने छ भने विना झाँकी सहभागीहरुलाई २ हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिने निर्णय भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिएका छन् ।
म्याग्दी महोत्सवमा आयोजना हुने साविकका धौलागिरी अञ्चलभित्रका स्थानीय तहस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति म्याग्दीलाई सहजीकरणको आग्रह गर्ने निर्णय गरिएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव गौतमको भनाई छ । आसन्न महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटन प्रवद्र्धनलाई जोड दिइने पनि बताइएको छ ।