खोटाङमा महिला तथा बाल अधिकार हनन् सम्बन्धी घटना बढी

0
Shares

रामधन राई, खोटाङ । खोटाङमा महिला तथा बाल अधिकार हनन् सम्बन्धी घटना बढी पाईएको छ । नेपाल मानब अधिकार बर्ष पुस्तक सन् २०१८ का लागि ईन्सेकद्वारा संकलित घटनाहरुको बार्षिक पूर्ब समीक्षा गर्दा जिल्लामा महिला अधिकार हनन्का ३३ र बाल अधिकार हनन्का १३ घटना भएको पाईएको हो ।
शुक्रबार सदरमुकाम दिक्तेलमा ईन्सेक खोटाङले आयोजना गरेको कार्यक्रममा एक जनामा बलात्कार , एक जनामा बलत्कार पछि बेचविखन, दुई बलात्कारको प्रयास, ८ बहुविवाह, १० घरेलु हिंसा तथा ११ वटा अन्य प्रकारले महिलामाथि दुब्र्यवहार भएको जनाईएको छ ।
सन् २०१७ जनवरीदेखि डिसेम्वर १५ भरीका जिल्लामा सङ्कलन गरिएका मानवअधिकार र ज्यादतीका ६९ वटा घटनामध्ये बालअधिकार हनन्का १३ वटा घटना रहेका छन् । सो मध्ये १२ जना बालिका र एक शिशु पीडित बनेको ईन्सेकको तथ्याङकमा उल्लेख छ । बालअधिकार हनन्मा आठ बालिका बलत्कार तथा ४ बालिकामाथि यौनजन्य दुव्र्यवहार रहेका छन् । एक जना शिशु हत्याको घटना भएको समेत उल्लेख गरिएको छ ।
घटनाहरुको प्रकाशन पूर्व सरोकारवाला निकायबीच गरिएको समीक्षा कार्यक्रममा जिल्लामा
नौ जनाको हत्या भएको बताईएको छ । यसबीचमा बम बिष्फोटबाट एक जना घाईंते बनेको तथा कुटपिटबाट ८ जना घाईंते बनेको ईन्सेक जिल्ला प्रतिनिधि सुनिता मगरले बताउनुभयो ।
सम्पत्तिमाथिको अधिकार अन्तरगत यस एक वर्षको अवधिमा पाँचवटा घटनामा चारजना पीडित हुन पुगेका छन् । जसमा सार्वजनिक भवनमा आगजनी र ४ व्यक्तिको सम्पत्ति कब्जा गरेको भनी आतंकित बनाईएको पाईएको छ ।
प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी लगायत सरोकारवालाहरुको सहभागिता रहेको समीक्षा कार्यक्रमका बक्ताहरुले नागरिकका मौलिक अधिकार हनन् भएको खण्डमा खुलेर विरोध गरेमा लोकतन्त्रको पुर्नवहाली हुने बताएका छन् ।