भोट नै नमागेर पाँचौं

0
Shares

बाँके । २०५१ सालदेखि संसदीय चुनावमा उम्मेदवारी दिदै आएका नेपालगञ्जका लिलौं दर्जीले यो चुनावमा पनि प्रतिस्पधा गर्नुभयो । सधैं चुनावमा प्रतिस्पर्धा गर्ने, भोट माग्न नजाने र अन्तिम नतिजा पनि नसुन्ने दर्जीको अनौठो बानी रहेको छ ।
२०५१, २०५६ र यसपालीको चुनावमा उम्मेदवार बनेका दर्जीलाई कुनै पनि चुनावमा कति मत आयो भन्ने थाहा छैन । ‘म मतगणनास्थलमा गइन । ७ सय ८३ आयो भन्छन्, बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रतिस्पर्धा गरेका दर्जीले भन्नुभयो ।
यसपाली दर्जीको मत ६ सय ८३ आएको थियो । जुन क्षेत्र नं. २ मा प्रतिस्पर्धा गरेका १७ जनामध्ये पाँचौं हो । सुटुक्क उम्मेदवारी दिने, कसैसँग भोट नमाग्ने, रिजल्ट सुन्न पनि नजाने दर्जीले भोजभतेर, पत्रपत्रिका र सडकभरी प्रचार प्रसार, गाडीको लस्कर लगाएर हिड्नेको भन्दा धेरै मत ल्याउनुभयो ।
तपाईको कसरी यति धेरै मत आयो ? भन्ने जिज्ञासामा दर्जीले थप्नुभयो, ‘मेरा चिनजानका मान्छे छन् । उनीहरुले मत दिएका हुन् । मैले भने कसैसँग भोट मागिन ।’ दर्जीले आगामी चुनावका लागि भने अलि बढी मिहनेत गर्नुपर्ला भन्दै अझै चुनाव लड्ने मनसाय प्रकट गर्नुभयो ।
६८ वर्षीय दर्जीको २०५१ सालकै नारा अहिलेसम्म धेरैले सम्झिन्छन् । ‘भोट देऊ वा नदेऊ तुहार मर्जी, हमार नाम हो– लिलौं दर्जी’ यो नारा संसदीय चुनावलाई चाखपूर्वक नियाल्ने सबैको जिब्रोमा झुण्डिएको छ ।
विगतमा तराजु, रिक्सा चुनाव चिन्ह लिएका दर्जीको यसपाली हँसिया र तारा थियो । सधैं स्वतन्त्र चुनाव लड्ने दर्जी यसपाली जनसमाजवादी पार्टीबाट उम्मेदवार बनेका थिए ।