बालविवाहविरुद्ध रेखा थापा

0
Shares

बाँके । सिनेजगतकी चर्चित नायिका रेखा थापा बालविवाह विरुद्धको महाअभियानमा निस्किएकी छन् । जाजरकोटका नरबहादुर कार्कीलगायतले थालेको छोरीको निम्ति स्वर्णिम नेपाल, महाअभियानअन्तर्गत ‘बालविवाह अन्त्य र साझा संकल्प’का लागि नायिका थापा नेपालगञ्ज आएकी हुन् ।
नेपालगञ्जमा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ को संयोजनमा भएको साँझा संकल्पमा नायिका थापाले बालविवाहविरुद्धको महाअभियानमा जोडिन पाएकोमा गर्व लागेको बताउनुभयो । ‘बालविवाहले कस्तो असर पार्छ भन्ने कुरा मैले भोगेको छु, नायिका थापाले भन्नुभयो, अब यो महाअभियानमा बालविवाह अन्त्य नहुँदासम्म जोडिरहन्छु ।’
अभियान्ता नरबहादुर कार्कीले नेपाल छोरी भएर जन्मिने अनुकूल देश नभएको बताउनुभयो । उहाँले आर्थिक लाभ बिना महाअभियानमा जुटिरहेको बताउनुभयो ।
नेपालमा अहिले ३७ प्रतिशत छोरीको विवाह १८ वर्षभन्दा पहिले नै हुने गर्दछ । १० प्रतिशत छोरीहरुको विवाह १५ वर्ष पहिले हुने गर्दछ । नेपालको कानूनले २० वर्ष भन्दा मुनिको उमेरमा विवाह गर्न बन्देज गरेको छ ।
बाँकेमा पनि बालविवाह अधिक रहेको छ । पहाडी समुदायका छोरीहरु सामाजिक सञ्जालमार्फत जोडिएर विवाह गर्ने, मधेसी समुदायका बालिकाहरुको संस्कारका नाममा चाडै विवाह गराइदिने गरिन्छ । संस्कारका कारण पनि बालविवाह बढिरहेको छ । बालविवाह विरुद्ध काम गरिरहेको बीग्रुपका गोपालनाथ योगीले बालविवाहविरुद्ध स्रोत साधन खर्च भएपनि घट्न नसकेको बताउनुभयो । ‘अब संघ संस्था र व्यक्तिले गरेर केही हुँदैन, यो रोक्नका लागि सबैजना साँझा संकल्पका रुपमा अघि बढ्नु पर्छ, योगीले भन्नुभयो ।
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का गभर्नर मधुसुदन रिजालले आफ्नो क्षेत्रमा बालविवाह विरुद्धका लागि कार्यक्रमहरु अघि बढाउने जानकारी दिनुभयो । ‘हतारमा विवाह गरेर फुर्सदमा पछुताउने धेरै छन्, लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का पूर्वगभर्नर सेम शाक्यले भन्नुभयो, हामी सबै मिलेर बालविवाह रोक्नु पर्छ ।’