स्याउलेको सब स्टेशनको निर्माण कार्य दु्रत गतिमा

0
Shares

राम धामी, डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकामबाट ३ किलोमिटरको दुरीमा रहेको स्याउले बजार नजिकै दुधकाँडेमा निर्माणाधिन १३२ के.भी. सवस्टेशन आयोजनाको निर्माण कार्य दु्रतगतिमा अघि बढेको छ । चालु आर्थिक बर्षभित्रै आयोजनाबाट सवस्टेशन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ दु्रतगतिमा निर्माण कार्य भइरहेको र चालु आर्थिक बर्षदेखि सवस्टेशनले सेवा आरम्भ गर्ने स्याउले १३२ के.भी. सवस्टेसन आयोजनाले जनाएको छ ।

प्रदेश नं. ७ मा रहेका ७ ओटा पहाडी जिल्लाकाहरुको विद्युत वितरण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने उदेश्यले नेपाल सरकारको लगानीमा सवस्टेशन निर्माण गर्न लागिएको हो । स्याउले १३२ के.भी. सवस्टेसन आयोजनाको निर्माण कार्यको ठेक्का पाएको इष्ट इन्डीया उद्योग र वाईवा इन्फाटेक जेभीले निर्माण कार्य दु्रतगतिमा अघि बढाएको आयोजना प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आयोजनाको स्थलगत निरिक्षणका लागि फिल्डमै कृयासिल आयोजना प्रमुख पौडेलले स्वस्टेशन निर्माणका लागि सिभिल तर्फको काम झण्डै ९० प्रतिसत सम्पन्न भएको र इलोक्ट्रिकल तर्फको काम ६० प्रतिसत सम्पन्न भइसकेको बताउनुभयो । “निर्माण कार्य दु्रत गतिमा अघि बढाउन निर्माण कम्पनीहरुलाई निर्देशन दिइएको छ,” उँहाले भन्नुभयो, “निर्माण कम्पनीहरुले दु्रत गतिमा निर्माण कार्य बढाएका छन् ।

आयोजनाका लागि नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रबाट खटिएका साइड इन्चार्ज चेतराज भट्टले सवस्टेशन निर्माण गर्न रु २८ करोड लागत अनुमान गरिएकोमा घटाघटीमा ठेक्का सम्झौता भएको जानकारी दिनुभयो । भिमदत्त राजमार्गको स्याउले बजारदेखि सवस्टेशन सम्म करिब १ किलोमिटर पक्की सडक निर्माण सम्पन्न भइसकेको र आयोजनाकालागि आवश्यक ४ ओटा भवनसँगै बाउन्ड्री वाललगायत स्वीचयार्डका संरचनाहरु निर्माण कार्य अन्तिम चरणमा पुगेको साईड इन्चार्ज भट्टले बताउनु भयो ।

प्रदेश नं. ७ का ७ ओटा पहाडी जिल्लाहरु डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलामा हाल अत्तरिया–डडेल्धुरा–दिपायल ३३ के.भी. प्रशारणलाइन मार्फत विद्युत प्रशारण गरिएको छ । डडेल्धुरा र दिपायलमा रहेका ३३ र ११ के.भी.को सबस्टेशनबाट ३३ के.भी. विद्युत ११ के.भी. मा परिणत गरि वितरणगर्दा हावाहुरीका कारण दिनहु पटक पटक विद्युत आपुर्ती बन्द हुने समस्या देखिएको छ । १३२ केभी सवस्टेशन नहुँदा विद्युत प्रशारण चुहावट बढि भएको र भोल्टेज ड्रप हुने समस्या देखिएकाले स्याउले १३२ के.भी. सवस्टेसन आयोजनाले सवस्टेशन निर्माण गर्न थालेको नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले जनाएको छ । 

दार्चुला जिल्लाको बलाचमा निर्माणाधिन ३० मेघावाट क्षमताको चमेलिया जलविद्युत आयोजना र भविष्यमा निर्माण हुने विद्युत गृहबाट उत्पादित विद्युत केन्द्रीय प्रशारण लाईनमा जडान गर्न पनि सवस्टेशन आबश्यक भएकाले आर्थिक बर्ष २०७०÷०७१ मा सवस्टेशन निर्माणका लागि सर्भे तथा सम्भाव्यता अध्ययन कार्य शुरु गरिएको थियो । आर्थिक बर्ष २०७१÷०७२ मा सवस्टेशनका लागि आबश्यक ५५ रोपनी जग्गा अधिग्रहणगरि सोहि आर्थिक बर्षमा ठेक्का सम्झौता भई निर्माण कार्य शुरु गरिएको साईड इन्चार्ज भट्टले बताउनु भयो ।

सवस्टेशनमा ३० एमभीए क्षमताको १३२÷३३ के.भी.को एउटा पावर ट्रान्सफर्मर र ८ एमभीए क्षमताको ३३÷११ के.भी.को एउटा वितरण टान्सफर्मर गरि दुईओटा ट्रान्सफर्मर रहनेछन् । सवस्टेशनमा जडान गरिने विद्युतीय उपकरणहरु विदेशबाट खरिद गरेर ल्याइने आयोजनाले जनाएको छ । सवस्टेशन निर्माण भएपछि प्रदेश नं. ७ का पहाडी जिल्लाहरुको विद्युत वितरण प्रणाली सुदृढ हुने अपेक्षा राखिएको आयोजना प्रमुख पौडेलले बताउनुभयो । उँहाले हालको केन्द्रीय प्रशारण लाइनका साथै यस क्षेत्रमा भबिष्यमा निर्माण गरिने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रदेश नं. ७ का ७ ओटै जिल्लामा आपुर्तीका लागि सवस्टेशन उपयोगी हुने जानकारी दिनुभयो ।