रहेनन संगीतसाधक चन्द्रराज शर्मा !

0
Shares

काठमाडौं । संगीतकार चन्द्रराज शर्माको अाज विहान निधन भएको छ । :संगितकार तथा गायक एवं शर्माका छाेरा सूर्यका अनुसार विहान दुध खान गह्राे भएपछि टिचिङमा लगिएकाे र अस्ताले मृत घाेषणा गरेकाे थियाे । पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’का संगीतकार शर्मा उच्च रक्तचाप र मधुमेहका बिरामी थिए । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहीवार बिहान ११ बजेदेखि १ बजेसम्म पशुपति आर्यघाटमा राखिने परिवारका सदस्यले जानकारी दिएका छन् । चलचित्र कुमारीमा शर्माले शिवशंकर मानन्धरसँग संयुक्त संगीत दिएका थिए । चलचित्र कुमारीको ‘मनमा माया तनमा माया’ बोलको गीत निकै चर्चित छ । ‘श्री स्वस्थानी र ‘महाकवि देवकोटा’ मा पनि उनले संगीत निर्देशन गरेका थिए । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य सांस्कृतिक संस्थानमा महाप्रवन्धक हुँदा शर्माले त्यहाँ प्रदर्शित नाटक ‘नाम नभएको मान्छे र क्रशमा टाँगिएको जिन्दगी’ मा संगीत दिएका थिए । समिक्षक एवं लेखक प्रकाश सायमीका अनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटा गीति नाटक ‘मुनामदन’मा पनि उनले संगीत दिएका थिए । उनको संगीतमा नारायण गोपालले गाएको लक्ष्मण लोहनीको शब्दमा रहेको ‘म मरे पनि मलाई मेरो देशको माया छ…’ बोलको गीत निकै लोकपि्रय छ । उनको संगीतमा माणिकरत्न, तारादेवी, तोरणमुनि बज्राचार्य, सुदेशराज शर्मा आदिले गाएका छन् । उनले पछिल्लो पटक महाकवि देवकोटाको गीति नाटक कुञ्जिनीमा पनि संगीत दिएका थिए । सुनौला घाम झुल्केन, नदीका दुई किनारा, आँखाहरुले रुन नखोजे (कुमारी), चपला अबला एक सूरमा (भानुभक्त), मेरो माल मलाई फर्काइदे बाबु (जीवनज्योति), ए मेरी मुना नभन तेसो जुनमा फुलेकी (मुनामदन), तिम्रो आकाशमा जून (मीरा राणा), तिमी आफूलाई (माणिकरत्न), मोतिका दाना (सुदेश शर्मा र संगीता राणा प्रधान) लगायत उनका चर्चित गीत हुन् । वरिष्ठ संगीतकार यज्ञराज शर्माका माहिला छोरा शर्माका दुई छोरा र एक श्रीमती छन् ।

चन्द्रराज शर्माले संगीत दिएका केही चर्चित गीतहरु यस्ता छन्