बल्ल गर्यो भारतले चुनावको स्वागत



काठमाडौं, (नेस)
विगतका चुनावी नतिजा पूर्णरूपमा सार्वजनिक हुन नपाउँदै निर्वाचनको स्वागत गर्ने भारतले यसपटक केही दिन ढिलो मात्रै चुनावको स्वागत गरेको छ।

प्रतिनिधिसभाका सबै स्थानको निर्वाचन परिणाम सार्वजनिक भएको एक दिनपछि बिहीबार मात्र भारतले नेपाली चुनावबारे आफ्नो धारणा सार्वजनिक गरेको हो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्वागत गर्दै भारतले नयाँ सरकारसँग काम गर्न सरकार आतुर रहेको जनाएको छ।

बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै सो मन्त्रालयका प्रवक्ता रवीश कुमारले दुवै तहका निर्वाचन र नयाँ सरकारका लागि भारतले बधाई दिएको बताउनुभयो। ‘नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने भारतीय चाहना छ, लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर छ।’ –उहाँले भन्नुभयो।

दुवै मुलुकको वर्षौं पुरानो घनिष्ठ सम्बन्ध रहेको स्मरण गर्दै रवीश कुमारले नेपालको आर्थिक समृद्धि र नेपाल–भारत सम्बन्धका सबै पक्षमा सहयोग गर्न भारत तयार रहेको बताउनुभयो।

भारतले नेपाली निर्वाचनबारे ढिलै गरी प्रतिक्रिया दिए पनि नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले वाम गठबन्धनलाई इङ्गित गर्दै नयाँ राष्ट्रवादको चुनावी सफलता भएको टिप्पणी गर्नुभएको छ। भारतको राज्यसभा टिभीलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभएको छ– ‘नेपाली कांग्रेस तराई र भारतप्रति केही नरम थियो, जुन कुरा नयाँ राष्ट्रवादीले स्विकारेनन्।’ यसअघि चुनावी परिणाम वाम गठबन्धनको पक्षमा जानेबित्तिकै भारतीय सञ्चारमाध्यमले नेपालको नयाँ सरकारसँग भारतीय सरकारको सम्बन्ध त्यति सहज नहुने टिप्पणी गरेका छन्। वामपन्थी सरकारको आगामी निकट सम्बन्ध चीनसँग रहन सक्ने त्यहाँका सञ्चार माध्यमले औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्