मनपरि नियुक्तिहरु नगर्न सरकारलाई शंकर पोख्रेलको चेतावनी



नेपाल समाचारपत्र, बाँके ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं दाङ प्रदेश सभाबाट निर्वाचित विधायक शंकर पोखरेलले सरकारले अहिले गरिरहेको नियुक्तिहरु अनुचित भएको बताउनु भएको छ ।

प्रेस चौतारी, बाँकेले बुधबार अपरान्ह नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले भविष्यसम्मलाई असर गर्ने गरी सरकारले गरेका नियुक्तिहरु तत्काल रोक्न आग्रह गर्नुभयो । ‘जनादेशको विपरित सरकारले अहिले विभिन्न नियुक्तिहरु गरेर अनुचित काम गरिरहेको छ, नेता पोखरेलले भन्नुभयो, यो रोक्नु पर्छ ।’

पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको चर्चामा रहेका नेता पोखरेललाई नेपालगञ्जमा नेता तथा कार्यकर्ताले त्यही रुपमा स्वागत तथा सम्मान गरेका थिए । एक प्रश्नमा नेता पोखरेलले मुख्यमन्त्रीको लागि सभासदहरु जसले पनि दावी गर्न पाउने भएपनि दलीय सहमति आफूसँग भइसकेको खुलासा गर्नुभयो । उहाँले दुई महिनाभित्र प्रादेशिक सरकार गठन हुने बताउनुभयो ।

नेता पोखरेलले संविधान संशोधनको पक्षधर, कम्युनिष्टले जित्दा अधिनायकवाद, तानाशाह आउने, राष्ट्रवादको कुरा गर्दा खोक्रो राष्ट्रवाद भनेर आरोप लगाउनेहरु चुनावमा पराजित भएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वधिनता, संशोधन होइन आर्थिक, सामाजिक रुपान्तरणबाट देशको विकास र समृद्धि गर्नुपर्छ भन्ने पक्षधरको विजयी भएको बताउनुभयो । ‘अधिकार होइन, विकास र समृद्धि पक्षलाई जनताले अनुमोदन गरेका छन्, पोखरेलले भन्नुभयो ।

पोखरेलले पहिला सरकार गठन गरेर पार्टी एकताको प्रक्रिया अघि बढाउनु पर्ने बताउनुभयो । ‘नेतृत्व भन्दा पनि जनता अगाडि बढेर पार्टी एकता प्रक्रिया अघि बढाइसकेका छन्, नेता पोखरेलले भन्नुभयो, अब पहिला सरकार गठन गर्ने र त्यसपछिको प्राथमिकता पार्टी एकता हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्