धनराजको आँसुुले पोल्यो स्याङ्जा कांग्रेसलाई



काठमाडौं । ‘पार्टीभित्र धनवाद र डनवाद हावी भएको छ । त्यसैका कारण मैले उम्मेदवारी पाइनँ’ स्याङ्जाको एउटा कुनामा जन्मेर आफ्नै क्षमतामा नेपालभरि चर्चित रहन सफल रहेका कांग्रेस युवा नेता धनराज गुरुङको भनाई हो यो । आफूले उम्मेदवारी नपाए पछि करिब एक महिना अगाडि राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ताका क्रममा आँखाबाट बरबर्ती आँसु चुहाउँदै यही विषयलाई लिएर कांग्रेस नेतृत्व समक्ष दुुखेसो गरेका थिए उनले ।

अहिले निर्वाचनमा कांग्रेसले बेहोरेको हारका पछाडि गलत उम्मेदवारी चयन भएको विश्लेषकहरुले बताइरहेका छन् । स्याङ्जा जिल्लाको दुुईवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि धनराज गुरुङको नाम सिफारिश गरी पठाइएको थियो । तर कांग्रेस नेतृत्वले धनराजलाई प्रदेशसभामा उम्मेदवार बनाउने निर्णय ग¥यो ।

तत्कालीन अख्तियार प्रमुख लोकमान विरुद्ध महाभियोग लगाउन पार्टीभित्रैका युवा सांसदलाई एकत्रित पार्ने धनराज स्याङ्जामा मात्रै होइन मुलुकभरि नै युवाहरुका माझ रोल मोडलका रुपमा चिनिन्छन् । उनले आफूलाई प्रतिनिधिसभाका लागि मात्रै सिफारिश गरेको र प्रदेशसभाका लागि सिफारिश नगरेको भन्दै आफू प्रदेशसभाको उम्मेदवार बन्न इन्कार गरे ।

धनराजको भनाई थियो ‘मलाई जिल्लाबाट प्रतिनिधिसभामा सिफारिश गरिएको हो । म जस्तै अन्य साथीहरुलाई प्रदेशसभाको उम्मेदवारका लागि सिफारिश गरिएको छ । यदि म प्रदेशसभाको उम्मेदवार बनिदिएँ भने प्रदेशसभाका लागि सिफारिश भएका ती साथीहरुमाथि अन्याय हुन्छ ।’

स्याङ्जाका धेरैजसो युवाहरु त्यतिबेलै देखि कांग्रेस नेतृत्वप्रति रुष्ट थिए । कतिपय कांग्रेसकै स्थानीय नेताहरुले त्यसको आलोचना समेत गरेका थिए । स्याङ्जा २९ख० को प्रदेशसभामा बाहेक अन्य सबै स्थान कांग्रेसले गुमाए पछि स्याङ्जाका युवाहरु सामाजिक संजालमा लेखिरहेका छन्, ‘स्याङ्जा कांग्रेसलाई धनराजको आँसुले पोल्यो ।’

प्रतिक्रिया दिनुहोस्