स्थानीय निकायले पुस्तक तथा शैक्षिक महोत्सवलाई सहयोग गरेनन्



बाँके । नेपालगञ्जमा पहिलो पटक हुन थालेको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
मंसीर २८ देखि पुष ५ गतेसम्म सञ्चालन हुने प्रदर्शनी तथा शैक्षिक महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको छ । ‘पढौं र पढायौं’ संस्कृतिको विकास गर्नका लागि आयोजना गर्न थालिएको प्रदर्शनी तथा महोत्सवमा दुई लाख बढीलाई अवलोकन गराउने आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, बाँकेले जनाएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सव मूल आयोजक समितिका संयोजक बुद्धिप्रसाद अधिकारी, प्रचार प्रसार समिति संयोजक बसन्त लामिछाने, महासंघका महासचिव नवनिधि पन्तले पठन संस्कृतिको विकास गर्न महोत्सव आयोजना गरिएको बताउनुभयो । महासचिव पन्तले राजधानीमा वर्षेनी हुँदै आएको पुस्तक प्रदर्शनी तथा महोत्सवलाई बुटवल, धनगढी, झापा, चितवन, दाङ हुँदै नेपालगञ्जसम्म ल्याएको बताउनुभयो । ‘हामीले महोत्सव आयोजना गरेको ठाउँमा पठन संस्कृतिको विकास भएको छ, महासचिव पन्तले भन्नुभयो ।
एक सय ४० बढी स्टल राख्ने तयारी भएको महोत्सवको उद्घाटनमा पूर्वउपकूलपति सुरेशराज शर्मा, चलचित्रकर्मी यादव खरेल, प्राज्ञ सनत रेग्मी र हरिप्रसाद रावतलाई रथारोहण गर्ने तयारी भएको छ । नेपालगञ्जको धम्बोझीचोकबाट विभिन्न समुदायको विशेष झाँकीले बजार परिक्रमा गराउने प्रचार संयोजक लामिछानेले जानकारी दिनुभयो । महोत्सवमा ७५ प्रतिशत भन्दा बढी स्टलहरुमा विभिन्न विधाका स्थानीय, राष्ट्रिय स्तरका पाठ्यपुस्तक, साहित्यिक कृति सहितका पुस्तकहरु रहनेछन् ।
महोत्सवमा एउटा टिकटको मूल्य ३० रुपैया कायम गरिएको छ । विद्यार्थीले परिचयपत्र देखाएमा १५ रुपैया लाग्छ । एक बस विद्यार्थी ल्याएमा जम्मा तीन सय रुपैया लिने व्यवस्था गरिएको छ । सात दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्दै उनीहरुमा रचनात्मक क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले अन्तर विद्यालय तथा कलेजस्तरीय विभिन्न प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्ने प्रचार संयोजक लामिछानेले बताउनुभयो । लेखक, पाठक तथा प्रकाशकबीचको अन्तरक्रिया, नारी स्रष्टा अवसर र चुनौती तथा बहुभाषिक कवि गोष्ठी एवं कविता र वक्तृत्वकला प्रतियोगिताहरु सञ्चालन गरिने छ ।
५८ लाख खर्च र साढे ३७ लाख आम्दानी गर्ने आकलन गरिएको महोत्सवका लागि स्थानीय निकायबाट सहयोग नभएको गुनासो आएको छ । ‘सबै ठाउँमा पत्र पठाइयो, खासै सहयोग भएन, सम्बद्धहरुले भनेका छन्, पहिलो पटक भएकाले पनि यस्तो भएको होला ।’ महोत्सवमा मदिरा र गुट्खाले विज्ञापन राख्ने प्रस्ताव गरिएपनि अस्वीकार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्