बागलुङमा एक सिट जित्न नसकेकाे कांग्रेस समानुपातिकतर्फ पहिलो



बागलुङ । प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा पराजित नेपाली कांग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ ।

प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ कांगेसले अन्य दलभन्दा बढी मत पाएको छ । कांगेसले प्रतिनिधिसभातर्फ ३५ हजार ६ सय ६८ र नेकपा एमालेले ३० हजार ६ सय ३५ ल्याएका छन् ।

समानुपातिकमा तेस्रो स्थान ओगटेको राष्ट्रिय जनमोर्चाले १५ हजार ९ सय ३४ मत पाएको छ । नेकपा माओवादी केन्द्रले १४ हजार ४ सय ५० मत ल्याएर चौथो भएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २१२ तथा जिल्लामा संगठन नै नभएरको विवेकशील साझा पार्टीले एक हजार १ सय ९६ मत प्राप्त गरेका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले ८ सय ४९, नयाँ शक्ति पार्टीले ४ सय ५, नेकपा मालेले ३ सय ६४ संघीय समाजवादी फोरम नेपालले २ सय १४ र नेपाली जनता दलले १ सय ५ मत ल्याएका छन् । कुल एक लाख ६७ हजार २८२ मतदाता रहेको बागलुङमा एक लाख आठ हजार १ सय ५१ मत खसेको थियो ।

जिल्लाका दुई प्रतिनिधि र चार प्रदेशसभामा प्रत्यक्षतर्फ वाम गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमाले, माओवादी केन्द्र र राजमो गठबन्धन बनाएर चुनावी मैदानमा थिए भने कांग्रेसले एक्लै चुनाव लडेको थियो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा जिल्लका तीनै क्षेत्र जितेको कांग्रेसले यसपालि विरासत जोगाउन सकेन ।

प्रतिक्रिया दिनुहोस्