भारतीय कंग्रेसको नेतृत्वमा राहुल



काठमाडौं, (नेस)
विगत लामो समयदेखि भारतीय कंग्रेस आईको नेतृत्वमा आउने चर्चा गरिएका राहुल गान्धी अब औपचारिक रूपमा सो पार्टीको अध्यक्ष बन्नुभएको छ। सो पार्टीले गान्धीलाई सोमबार औपचारिक रूपमा पार्टी अध्यक्ष बनाउने घोषणा गरेको हो।

सो पदका लागि कंग्रेसबाट अन्य कसैको मनोनयन दर्ता नभएपछि ४७ वर्षीय राहुलले निर्विरोध रूपमा पार्टीको नेतृत्व सम्हाल्ने अवसर पाउनुभएको हो। २ दशक अघिदेखि राहुलकी आमा सोनियाले कंग्रेसको नेतृत्व सम्हाल्दै आउनुभएको थियो। सन् १९९८ देखि पार्टी अध्यक्ष रहनुभएकी सोनियाले स्वास्थ्यलगायत कारणले अध्यक्षको जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने जनाएपछि गत महिना कंग्रेसले पार्टी नेतृत्वमा राहुललाई अघि सारेको थियो।

राहुलले आगामी शनिबारदेखि औपचारिक रूपमा अध्यक्षको पद सम्हाल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यससँगै गान्धी परिवारबाट भारतीय कंग्रेसको अध्यक्ष बन्ने राहुल पाँचौं व्यक्ति बन्नुभएको छ। सन् २००४ देखि औपचारिक रूपमा राजनीतिमा सक्रिय रहनुभएका उहाँ अहिले पनि सोही पार्टीको उपाध्यक्ष हुनुहुन्छ। सन् २००७ मा उहाँ अखिल भारतीय कंग्रेस समितिको महासचिव नियुक्त हुनुभएको थियो। २००९ मा आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३ लाख ३३ हजार मतले पराजित गरेर लोकसभामा निर्वाचित हुँदा उहाँले अन्तर्राष्ट्रिय जगत्मा पनि निकै चर्चा बटुल्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्