लाखौं कमाउने सुन्तलाका बोट सखाप

0
Shares

लमजुङ, (नेस)
केही वर्ष अगाडिसम्म लमजुङ मिठो सुन्तला उत्पादन हुने जिल्लाका रूपमा गणना हुँदै आएको थियो। जिल्लाको सुन्तला काठमाडौं, नारायणगढ मात्र होइन बंगलादेशसम्म पुगेको थियो। तर, हिजोआज यो कुरा कथा जस्तो भएको छ। दुई करोड कमाउने सुन्तालाका बोटहरू यतिबेला सिख्रा मात्रै भेटिन्छन्।

त्यस्तो बजारको आपूर्ति गर्नेमा लमजुङका बेसीशहर– ११ स्थित साबिकको चिति २ स्याउत, बेंसीशहर–१ को उदीपुर, दोर्दी गाउँपालिका–२ को अर्चलबोट, रागिनास नगरपालिका– १० को मोहोरियाकोट आदी गाउँ हुन्।
‘विगतमा जिल्ला सदरमुकाम बेंसीशहरमा दुई लाख रुपियाँमा रोजेको स्थानमा राम्रो घडेरी आउथ्यो। दुईवटा घडेरी आउने पैसा एक सिजनमा सुन्तलाको बगैंचाको आम्दानीवाट कमाउँथे,’ स्याउतका सुरेशबाबु पाण्डेले भन्नुभयो। यतिबेला उनको सुन्तालको बगैंचा मासिएको छ तर बेंसीशहरको घडेरीको मूल्य बढेर करोडमाथि पुगेको छ। किसानका अनुसार पत्ता लगाउनै नसकेको रोगका कारण हेर्दा हेर्दै सुन्तला बगैंचाका बोट मरेर सिख्रै भएका छन्।

पाण्डे मात्रै होइन स्याउतको पूरै गाउँलेहरूको व्यथा एउटै छ।स्थानीय शिक्षकसमेत रहनु भएका अर्का सुन्तला व्यवसायी गणेशबाबु पन्तले २०⁄२५ वटा बोटबाट ४०⁄४५ हजार रुपियाँ आम्दानी दिन थालेपछि १२ रोपनी जग्गामा ३ सय विरुवा सुन्तला २० विरुवा मौसम र कागतीका १० विरुवा रोपेर बगैंचा बनाउन थाल्नु भएको थियो। तर, पन्तको बगैंचा अहिले मासिर आम्दानी हुनुको साटो पाँच लाख ऋण थपिएको पन्त बताउनु हुन्छ।

सुन्तला बगैंचाले हराभरा लमजुङका ती गाउँ अहिले उराठ लाग्दा भएका छन्।सुन्तलाका बोट मरेपछि कतिले धान खेती गर्न थालेका छन् भने कतिले केरा खेती लगाउन थालेका छन्। २० हजार सुन्तलाको बोटबाट करिब २ करोडको कारोबार हुने त्यस गाउँमा अहिले २ सय बोट भेटिन पनि गाह्रो छ। के कति कारणले सुन्तलाका बोट मरे त ? त्यसबारेमा गाउँमा कुनै कृषि प्राविधिक आएर जाँच नगरेका स्थानीयको भनाइ छ।

तर, जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीले केही समय पहिले उदीपुरमा सुन्तलाको बोटको रोगको जाँच गरिएको भन्दैे लमजुङमा मात्र नभई मुलुकभरमा नै यस्तो समस्या रहेको बताउनुभयो। ‘खासमा यो साइटरस नामक रोग हो, यो ब्याक्टेरिया इन्फेक्सन लाग्छ, यसको रोकथामको उपाय भनेको सबै बोटलाई जरादेखि नै पूर्ण नष्ट गरी केही वर्षपछि पुनः सुन्तला रोप्नुपर्छ।’ अधिकारीले भन्नुभयो।