गगन थापालाई लक्षित गरी विस्फोट, बम राख्ने अहिलेसम्म कोही पनि पक्राउ परेनन्


ईश्वरराज ढकाल, काठमाडौं
गृह मन्त्रालयले तीनैवटा सुरक्षा निकायलाई शान्ति सुरक्षा कडा पार्न निर्देशन दिएको तीन दिन बित्न नपाउँदै राजधानीलगायत देशका विभिन्न भागमा बम विस्फोट भएका छन्।

बम विस्फोटमा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापा घाइते हुनुभएको छ। हिजो सोमबार चुनावी प्रचारमा घरदैलो पुग्नुभएका थापामाथि बूढानीलकण्ठ नगरपालिकाको चपलीमा रहेको माधव कोलोनीमा रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको हो। बम विस्फोटमा थापालगायत १३ जना घाइते भएका छन्।

केही सामान्य उपचारपछि घर फर्केका छन्। जयराज लामिछाने, राजकाजी श्रेष्ठ, धु्रव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्यामकृष्ण श्रेष्ठ, रवीन्द्र कार्की, काशीलाल श्रेष्ठ, परशुराम थापा, रीमा बस्नेत, रोशनराम थापा र सुमन खड्का घाइते भएका छन्। गम्भीर घाइतेमध्ये श्यामकृष्ण श्रेष्ठ र राजकाजी श्रेष्ठको अवस्था गम्भीर रहेको छ।

शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका थापाले आफू भाग्यले बचेको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो– ‘म अघिअघि हिँड्दै थिएँ, पछाडि रहेका साथीहरूलाई बम लाग्यो।’ थापाले उम्मेदवारलाई आतंकित पार्न गरिएको विस्फोटनबाट आफू विचलित नहुने बताउनुभयो। अस्पतालबाटै पत्रकारसँग संक्षिप्त कुरा गर्दै उहाँले घटनामा विचलित नभई मतदान गर्न मतदातालाई अपिलसमेत गर्नुभएको थियो।
उहाँलाई हेर्न अस्पतालमा आफन्त र शुभेच्छुकको घुइँचो लागेको छ। अस्पतालले उहाँलाई दिउँसो करिब ३ बजे डिस्चार्ज गरेको थियो। उता बमको छर्रा लागी अस्पतालमा उपचाररत थापालाई भेट्न शिक्षण अस्पताल पुग्नुभएका प्रतिस्पर्धी एमालेका नेता राजन भट्टराईलाई भेट गर्न रोक लगाइएको छ। गगन समर्थित कार्यकर्ताले भट्टराईलाई भेट गर्न रोकेका थिए।

प्रतिस्पर्धी भट्टराई अस्पताल पुग्दा उहाँविरुद्ध नाराबाजीसमेत भएको थियो। भट्टराईले प्रतिस्पर्धीलाई भेट्न जाँदा आफूमाथि दुव्र्यवहार भएको बताउनुभयो। गम्भीर घाइते ४ जनाको उपचार भइरहेको र अन्यको डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ। बम आक्रमणलगत्तै प्रहरीले राजधानीको विभिन्न स्थानमा चेक जाँचलाई कडाइ गरेको छ। ‘कसले बम प्रहार गर्यो भन्ने विषयमा जानकारी आएको छैन, अपराधीहरूको खोजतलास जारी छ’ –प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले भन्नुभयो।

गृह मन्त्रालयको निर्वाचन केन्द्रीय कमान्ड पोस्टको बैठकले दोस्रो चरणको निर्वाचनमा शान्ति सुरक्षामा कडाइ गर्ने निर्णय गरेलगत्तै राजधानीमै बम विस्फोटनका घटनामा वृद्धि भएको छ। सुरक्षा निकायले राजधानीलगायत विभिन्न स्थानमा गस्ती र चेकजाँचलाई कडाइ गरेको बताइरहँदा बम विस्फोटका घटना बढेको हो। दिनदिनै बम विस्फोटका घटना बढिरहेको बेला गृह मन्त्रालयले भने शान्ति सुरक्षा मजबुत रहेको दाबी गर्दै आएको छ। शान्ति सुरक्षा अत्यन्तै कडा रहेको प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास बालुवाटारनजिकै सोमबार बम राखिएको थियो।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उच्च सुरक्षामा रहेको सभामुख निवासनजिकै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेका थियो।

यतिका बम विस्फोटको घटना बढ्दासमेत प्रहरीले हालसम्म बम राख्नेको पहिचान हुन नसकेको बताउँदै आएको छ। बालुवाटारमा मात्रै होइन सोमबार ललितपुरका गोटीखेलनजिकै कामीडाँडामा कुकर बम फेला
परेको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम डिस्पोज गराएको थियो।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा बसेको कैलालीको होटेल डिभोटीनजिक सुकुटी नालामा बनेको पक्की पुल छेउमा बम राखिएको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको थियो। सोमबार सर्लाहीको दुई स्थानमा प्रेसर कुकर वम विस्फोट भएको छ। सर्लाहीको कर्मैयाको पुतली चोकमा बम विस्फोट भएको थियो।

त्यस्तै सदरमुकाम मलंगवा क्षेत्र नम्बर–२ की स्वतन्त्र उम्मेदवार राधा मौसीको घरमा पार्किङ गरी राखिएको एउटा सवारी साधानमा बम विस्फोट भएको छ। एचपी१९सी ९९७३ नम्बरको गाडीमा बम विस्फोट भएको थियो। दुवै घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

यसैबीच नेपाली कांग्रेसले सोमबार नै विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गरेको छ। पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेस र लोकतान्त्रिक शक्तिमाथि उर्लंदो जनसागर देखेर लोकतन्त्र विरोधी तत्त्वहरूले दिनानुदिन यस्ता गतिविधिहरू गर्ने उल्लेख छ। ‘नेपाली कांग्रेसका नेता, उम्मेदवार तथा कार्यकर्ताको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित कार्य र आक्रमणप्रति नेपाली कांग्रेस घोर भत्र्सना र निन्दा गर्दछ।’ –विज्ञप्तिमा उल्लेख छ।