भारतसंग सीमा जोडिएका पर्साका मतदान स्थल अति सेंदनशील


कृष्णउदास खनाल, वीरगन्ज । यही मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्लामा तोकिएका १ सय ६७ मतदान स्थल मध्ये ७३ अति संवेदनशील मानिएको छ । भारतसँग सीमा जोडिएका ७३ वटा मतदान स्थललाई अति संवेदनशील मानिएको हो ।
जिल्लामा २ लाख ८९ हजार ८४ जना मतदाताका लागि ३ सय ५१ वटा मतदान केन्द्र तोकिएका छन् । जिल्लामा १ लाख ६४ हजार ६ सय २९ जना पुरुष, १ लाख २४ हजार ४ सय ९ जना महिला र १६ जना तेस्रो लिंगी मतदाता छन् ।जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले छिमेकी मुलुक भारतसँग सीमा जोडिएका सबैजसो र वीरगन्ज महानगरपालिकाका केहि मतदान स्थललाई अति संवेदनशील मानिएको छ ।

‘खुल्ला सीमाना भएका कारण भारतसँग सीमा जोडिएका सबैजसो मतदान स्थललाई अति संवेदनशील मानेका छौं, त्यसैगरी वीरगञ्जमा बढी भिडभाड हुने मतदान स्थललाई अति संवेदनशील भनेका छौं’, प्रमुख जिल्ला अधिकारी सिंहले भने, ‘त्यही अनुसारको सुरक्षा व्यवस्था पनि मिलाएका छौं ।’
त्यसै गरी, जिल्लाको ७९ वटा मतदान स्थल संवेदनशील र १५ वटा मतदान स्थल सामान्य मानिएको जिल्ला सुरक्षा समिति पर्साले जनाएको छ ।
यसैबीच जिल्ला स्थित ४ वटै सुरक्षा निकायका प्रमुखहरुले जिल्लाका मतदान स्थलहरुको स्थलगत अनुगमन गरिरहेका छन् । क्षेत्र नं ३ र ४ का मतदान स्थलहरुको अनुगमन गरिसकेको र अन्य क्षेत्रको पनि अनुगमन गर्ने तयारी भइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

विशेष गरी सदरमुकाम वीरगन्जभन्दा टाढा पर्ने संवेदनशील क्षेत्रका मतदान स्थलहरुको अनुगमन भइरहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक शान्तिकुमार कार्कीले बताए ।‘निर्वाचन आयोगका दुई जना सहसचिव जिल्लामा छन्, हामी सुरक्षा निकाय पनि सतर्क छौं । सबै ठाउँमा पुग्न नसकेपनि संयुक्त र छुट्टाछुट्टै अनुगमन टोलीले ठाउँ ठाउँमा गएर अनुगमन गरिरहेका छौं’, सशस्त्र प्रहरी उपरीक्षक कार्कीले भने ।अलिकति बढी संवेदनशील मानिएका, दुरीका हिसाबले टाढा रहेका मतदान स्थलहरुलाई प्राथमिकतामा राखेर अनुगमन गरिरहेको उनको भनाई छ ।पर्सामा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लाको सबै सुरक्षा अंग अहिले सकृय रहेको छ ।