दुई नं प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने दाबी


 

जनकपुरधाम ।  राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य एवं धनुषा जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने दाबी गर्नुभएको छ ।

जनकपुरधाम आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनलाई मधेश आन्दोलनका उपलब्धिलाई निर्णायकसिद्ध गर्ने अवसरका रूपमा लिनुपर्ने खाँचो औँल्याउनुभयो ।

महतोले जनकपुरधामलाई मधेशको राजधानी बनाउने सन्दर्भमा कसैको पनि विमति नरहेको स्पष्ट गर्दे जनकपुरधामलाई मधेशको राजधानी बन्नबाट कुनै पनि शक्तिले रोक्न नसक्ने दृढता व्यक्त गर्नुभयो ।

जनकपुरधामलाई अपराधमुक्त बनाउनु जरुरी छ भन्दै उहाँले जनकपुर क्षेत्रमा विधिको शासनको प्रत्याभूति गराउन सम्बन्धित पक्ष गम्भीर हुनु आवश्यक रहेको धारणा राख्नुभयो ।

मतदानपछि जनताको सुरक्षा र रक्षाका लागि सम्बन्धित निकायको सजगतामा जोड दिँदै उहाँले ‘‘मतदातालाई डर र धम्की आइरहेकाले निर्भय र निर्धक्क भई मतदान गर्न वातावरण निर्माणको आवश्यकता छ’’ भन्नुभयो ।