मत नबेच्न प्रमुख आयुक्तको आग्रह


काठमाडौं, (नेस)
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पैसाको लोभमा परेर आफ्नो अमूल्य मत नबेच्न आम मतदातालाई आग्रह गर्नुभएको छ।

आयोगले निर्वाचनको तयारीका सम्बन्धमा आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले भन्नुभयो– ‘आज सोमबार रातिदेखि मौन अवधि शुरू हुन लागेको छ। मौन अवधि शुरू भएपछि मत किन्ने र बेच्ने प्रयास हुन सक्दछ। यसमा आम मतदाता सचेत हुनुपर्दछ।’

मौन अवधि भनेको कुन दललाई मत दिने भनेर विचार गर्ने र सोच्ने समय रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो– ‘यस अवधिमा अनावश्यकरूपमा मतदातालाई प्रभावित पार्ने काम कसैले नगरोस्। आयोगको चाहना यही छ।’

निर्वाचन आचार संहिताविपरीत पैसाको खोलो बगाइरहेको चर्चा भए पनि तथ्यगत सूचना र प्रमाण नभएकाले त्यस्ता त्यस्ता उम्मेदवारलाई कारबाही गर्न नसकिएको उहाँले बताउनुभयो। ‘आचार संहिता भनेको निरपेक्ष हुन्न। समाज, राज्य, शासन गरिरहेको व्यक्तिहरूको सोच र चेतनाको समग्रतामा बुझ्नुपर्ने हुन्छ’ –विगतका निर्वाचनको तुलनामा आचार संहिता पालनाको स्थिति सुधारोन्मुख रहेको दाबी गर्दै उहाँले भन्नुभयो। निर्वाचन आचार संहिता पालनाको अनुगमन गर्न १ सय १३ सहसचिव र ८८ जना उपसचिव सूक्ष्म अनुगमनका रूपमा जिल्ला जिल्लामा खटाइएको छ।

मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरू हिजो र आजदेखि मतदानस्थलमा जाने पनि उहाँले जानकारी दिनुभयो। सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ। आम मतदातालाई ढुक्क भएर मतदान गर्न पनि प्रमुख निर्वाचन आयुक्त डा. यादवले आग्रह गर्नुभयो। मतदाता सुरक्षित रहेको पनि उहाँको कथन रहेको छ। उच्चस्तरीय सुरक्षा समितिले सुरक्षाको रणनीतिलाई परिमार्जन गर्दै सुरक्षा व्यवस्था मिलाइएको पनि उहाँले जानकारी दिनुभयो।

प्रमुख निर्वाचन आयुक्त डा. यादवका अनुसार यसपटक पनि समय अभावले गर्दा मतदाता शिक्षालाई सोचेजस्तो प्रभावकारी बनाउन सकिएको छैन। तर, पनि विगतको स्थानीय तहको निर्वाचनको तुलनामा शिक्षा व्यापक र १६ भाषामा प्रचार भइरहेको छ। यसले गर्दा यसपटक बदर मत ५ प्रतिशतमा झर्ने पनि उहाँले जानकारी दिनुभयो।

पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन सकिएलगत्तै गणना गर्ने पनि उहाँले बताउनुभयो। आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।