काठमाडौंमा यस वर्षकै बढी चिसो, श्रीलंकाली ‘ओक्ची’ को प्रभाव होइनः मौसमविद्


टीका बन्धन, काठमाडौं

काठमाडौं उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ। शुक्रबार ६ दशमलव ८ डिग्री कायम भएको उपत्यकाको न्यूनतम तापक्रम शनिबार ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गत वर्ष डिसेम्बर २ तारिखका दिन उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री मापन भएको थियो। भारतको उत्तर–पश्चिमी क्षेत्र काश्मीर र आसपासबाट मुलुकको पश्चिमी भेग हुँदै भित्रिने वायुका कारण मुलुकको तापक्रममा उतार–चढाव आउने गर्छ। पश्चिमी वायु हिमालय रेन्जमा ठोकिएर अन्यत्र फैलिँदा उपत्यकासहित धेरै ठाउँमा अहिले चिसो बढेको मौसमविद्ले बताएका छन्।

‘पश्चिमी वायु हिमाली र उच्च पहाडी क्षेत्रलाई छोएर बहँदा अहिले धेरै ठाउँमा चिसो बढेको छ’ –जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भन्नुभयो। श्रीलंकामा गत बिहीबार विकास भएको ‘ओक्ची’ नामको आँधीको प्रभाव र त्यसको असर भने अहिले नेपालमा नपरेको उहाँले प्रस्ट्याउनुभयो। सो आँधीका कारण श्रीलंका र भारतको तमिलनाडु तथा केरलामा करिब २ दर्जनले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

१ सय ३० किलोमिटर प्रतिघण्टाको शक्तिशाली आँधीका कारण भारत र श्रीलंकाका धेरै ठाउँको जनजीवन प्रत्यक्ष प्रभावित हुनुका साथै ठूलो भौतिक क्षतिसमेत भएको छ। अहिले श्रीलंकाको प्रत्यक्ष प्रभाव नरहे पनि मध्य हिउँदको अवधि अझै बाँकी रहेकाले उच्च पहाडी क्षेत्रमा हुने हिमपातका कारण तापक्रम झनै घट्ने मौसमविद्हरूले बताएका छन्।
उपत्यकामा बढ्दो प्रदूषणका कारण मौसम प्रस्टरूपमा खुल्न सकेको छैन। बिहान–बेलुका तुँवालोको मात्रा बढ्न थालेको छ। यही कारणले हवाई भिजिबिलिटी घट्न थालेको र बिहानीपखको हवाई उडान प्रभावित बन्न थालेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो। ‘दिउँसोको हवाई भिजिबिलिटी सन्तोषजनक रहे पनि केही दिनयता बिहानको भिजिबिलिटी १५ सयदेखि २ हजार मिटरका हाराहारीमा छ, जुन हवाई उडानका लागि पर्याप्त हुँदैन, यही कारणले बिहानी समयको केही आन्तरिक उडान प्रभावित हुन थालेका छन्’ –उहाँले भन्नुभयो।

हिउँदयामको डिसेम्बर महिनामा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्य र १ डिग्रीका हाराहारीमा झर्ने गरेको महाशाखाको तथ्यांक छ। महाशाखाका अनुसार शनिबार अपराह्नसम्ममा जोमसोमको न्यूनतम तापक्रम माइनस १ दशमलव शून्य, जुम्लाको माइनस शून्य दशमलव ४, जिरीको शून्य दशमलव ६ कायम भएको छ। त्यसै गरी डडेलधुराको न्यूनतम तापक्रम ५ दशमलव ९, वीरेन्द्रनगरको ६ दशमलव ५, दीपायलको ७ दशमलव ६ डिग्री कायम भएको छ।