‘प्रचार सामग्री हटाउन गारो’


सुनील महर्जन, काठमाडौं

प्रमुख राजनीतिक दलहरूले निर्वाचन आचार संहिताविपरीत विभिन्न स्थानमा आ–आफ्नो दलको चुनाव चिह्न अंकित तोरण राख्ने कार्यलाई तीव्रता दिएका छन्।

निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र तिनका उम्मेदवारहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चुनाव चिह्न अंकित तोरण राख्ने कार्यलाई तीव्रता दिएका हुन्। उसै त धुलो–धूँवा र ठाउँ–ठाउँमा फ्याँकिएको फोहोरले दुर्गन्धित बनेको काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा राखिएको चुनाव चिह्न अंकित तोरणले वातावरणको शोभा नै बिगारेको स्थानीयको भनाइ। ‘यसो हेर्दा जताततै चुनाव चिह्न अंकित तोरण छन्। हेर्दाखेरि नै वाक्कदिक्क लाग्ने खालका छन्’ –ललितपुर धौगल निवासी प्रवीण शाक्यले भने।

निर्वाचन आचार संहिता २०७२ को परिच्छेद २ को उम्मेदवार, राजनीतिक दलहरूले पालना गर्नुपर्ने नियममा कुनै मठ–मन्दिर, गुम्बा, मस्जिद, चर्च वा कुनै धार्मिकस्थल प्रयोग गरी निर्वाचनसम्बन्धी प्रचार–प्रसार गर्न वा गराउन नहुने प्रावधान रहेको छ।

सोही आचारसंहितामा निर्वाचनसम्बन्धी प्रचारप्रसारका लागि धार्मिक, सांस्कृतिक स्थललगायतमा पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने पनि प्रावधान रहेको छ।

निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले चुनाव प्रचारप्रसार गर्न नपाउने मौन अवधि शुरू हुन लाग्दा निर्वाचन प्रचार–प्रसारका सामग्री प्रदर्शन गर्ने होड दलहरूबीच बढेको जानकारी आयोगलाई प्राप्त भएको बताइएको छ। त्यस्ता तोरण र प्रचारप्रसार सामग्री मतदान स्थलवरपर नै राखिएका छन्।

यसले गर्दा मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने व्यवस्था गरिएको छ। यहाँ त मौन अवधि शुरू हुन लाग्दा त्यस्ता सामग्री प्रदर्शन गर्ने होडबाजी देखिएपछि त्यसलाई हटाउन गार्हो हुने स्थिति उत्पन्न भएको आयोगले जनाएको छ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा आचारसंहिता पालनाको अनुगमन गर्न क्रममा आयुक्त सुधीरकुमार शाहले विभिन्न स्थानमा आचारसंहिताविपरीत निर्वाचनका प्रचारप्रसार सामग्री राखिएको बताउनुभयो। उहाँले ती सामग्री दुई दिनभित्र हटाउन जिल्लास्थित निर्वाचन कार्यालयलाई निर्देशन दिनुभएको थियो।
‘आयोगले प्रहरीको सहयोगमा त्यस्ता तोरण निकालेको थियो । कति मात्रामा हटाउने, ठाउँ–ठाउँमा त्यस्ता तोरणहरू राखिएको छन्। एक दिन अनुगमन गर्न गएर कति मात्रामा हटाउन सकिएला’ –आयोगका एक अधिकारीले भन्नुभयो।

दोस्रो चरणको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय बनाउन आयोगले जिल्ला–जिल्लामा सूक्ष्म अनुगमनकर्ता खटाएको जनाएको छ। ४५ जिल्लामा उपसचिवस्तरका ८८ जना कर्मचारीलाई २२ गतेसम्म सूक्ष्म अनुगमनकर्ताका रूपमा खटाएको हो।

आयोगका सहसहसचिव एंवं प्रवक्ता नवराज ढकालका अनुसार अनुगमकर्तालाई निर्वाचनमा आचारसंहिता पालना भए नभएको, मतदान स्थलमा आचारसंहिताविपरीतका क्रियाकलाप भए नभएको, मतदान समयमा सुचारु भए नभएकालगायतका बारेमा श्रव्य, दृश्यसहितका प्रमाण संकलन गरी सम्बद्ध अधिकारी र आयोगका पदाधिकारीलाई जानकारी गराउने जिम्मेवारी तोकिएको छ।