दई सय मिटर तलको पानी माथी गाँउमा पुग्नेभएपछि स्थानीयमा खुसीयाली

0
Shares

धनवीर दाहाल, रुकुम पश्चिम । मुसिकोट नगरपालिका ११ का ६६ बर्षिया बलीभद्र पुनले त्यती धेरै टाढाको पानी आफ्नो घर अगाडी आउला भन्ने कल्पना समेत गरेका थिएनन् । सँधै गाग्रीमा पानी बोक्न बानी परेका पुनलाई तलको पानी माथी आउँला भन्ने त सोच्न सम्म सकेका थिएनन । तर दुई मिटर तलको पानी माथी आउनेभएपछि उनी लगाएत स्थानीयमा खुसीको सिमा रहेन । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुमले बर्षाैं देखीको खानेपानी समस्या समाधान गरिदिएको छ । जिल्लामै पहिलोपटक विद्युतिय उपकरण प्रयोग गरेर लिफ्ट मार्फत खानेपानी आयोजना निर्माणको सञ्चालन भएको हो । मुसिकोट नगरपालिका वडा नं ११ भलाक्चामा विद्युतमार्फत गाउँभन्दा करिब तीन सय २० मिटर तलको पानीलाई तानेर गाउँमा बाँड्ने गरी आयोजना सुरु भएको हो । एक वर्ष अघिदेखि निर्माण कार्य सुरु गरिएको सो आयोजनाको अहिले मुहानदेखि २ सय मिटर माथिसम्म खानेपानी पुर्याउन सफल भएको छ । खैरे खोला मुहानबाट ३ सय २० मिटर माथिको भलाक्चा गाउँमा पानी पुर्याइएको हो । जिल्लामा विद्युतबाट खानेपानी लिफ्ट गर्न लागिएको यो पहिलो आयोजना हो । योभन्दा अघि सौर्य ऊर्जाबाट स–साना योजना भने बनेका छन ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुकुमको आर्थिक सहयोगमा खानेपानी आयोजना निर्माण हुन लागेको हो । विद्युतको सहायताले पहिलोपटक यति लामो दुरीमा लिफ्ट गरेर खानेपानी ल्याउने आयोजना सम्पन्न हुन लागेको कार्यालयका प्रमुख इन्जिनियर विकेश वधानथाछेले बताउनुभयो । गाउँभन्दा माथि खानेपानीको मुहान नभएपछि उक्त प्रविधि प्रयोग गरेर गाउँमा खानेपानी ल्याउन लागीएको उहाँको भनाइ छ । गत वर्षबाट सुरु यो आयोजनाको अहिले मुहानबाट २ सय मिटर माथि पहिलो चरणको लिफ्ट गरेर पानी गाउँमा पुर्याएको छ । गाउँमा भन्दा २ सय मिटर तलबाट आएको पानीको गति प्रतिसेकेन्ड साढे लिटर रहेको छ । २ सय मिटर माथिसम्म प्रतिसेकेन्ड साढे दुई लिटर तान्नुलाई प्राविधिक रूपमा राम्रो मानिने प्रमुख वधानथाछेले बताउनुभयो । पहिलो मोटरको सहायताले २ सय मिटर माथि पानी लिफ्ट भएको र अब अर्को ठाउँमा ट्याङ्की निर्माण गरेर फेरी १ सय २० मिटर माथि लिफ्ट गरिने बताइएको छ । २ करोड ४० लाखको लगानीमा निर्माण हुने सो आयोजनामा एक घर, एक धारा निर्माणको अवधारणा राखिएको छ । आयोजना निर्माण भएपछि मुसिकोट नगरपालिका ११ का १ सय ४० घरधुरी भन्दा बढि स्थानीय र त्यहाँका वडा कार्यालय, स्वास्थ्य चौकी तथा विद्यालयले प्रत्यक्ष रुपमा लाभा लिने कार्यालयको भनाई छ ।