चौबिसै घण्टा मतपेटिका कुर्छन् दलहरु

0
Shares

 

बागलुङ । गत आइतबार सम्पन्न चुनावका मतपेटिका कुर्न राजनीतिक दलहरुले कार्यतालिका बनाएका छन् ।

दलहरुले मतपेटिका सुरक्षाको लागि आआफ्ना टोली खटाएका छन् । महिलालाई दिउँसो र पुरुषलाई रातिमा मतपेटिका कुर्ने जिम्मेवारी दिइएको छ । यसअघि दलका महिलाले पनि मतपेटिका कुर्न पाउनुपर्ने आवाज उठाएका थिए ।

दलका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यायलको बाहिरी घेरामा बसेर मतपेटिका कुरिरहेका छन् । मतपेटिका राखिएका कोठामा सबै दलका आआफ्ना ताला झुण्डिएका छन् । दलहरुले सबैको सहभागितामा मतपेटिका कुर्ने व्यवस्था मिलाएको नेकपा (एमाले) बागलुङका सचिव लालबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार उम्मेदवार, नेता, महिला, युवालगायतका कार्यकर्ताले आलोपालो गरेर मतपेटिका कुरिरहेका छन् । जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएका मतपेटिकालाई सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका छन् । निर्वाचन आयोगले खटाएका कर्मचारी पनि मतपेटिकाको सुरक्षामा तल्लिन छन् ।

मतपेटिकाको सुरक्षामा विश्वस्त हुन कुरुवाको रुपमा प्रतिनिधि राख्नुपरेको दलहरुले बताएका छन् । वाम गठबन्धनका दलहरुले मतपेटिका कुर्न प्रतिनिधि राखेपछि काँग्रेसले आफू पनि प्रतिनिधि खटाउन बाध्य भएको जनाएको छ । बिहान, बेलुकी र रातिको समयमा गरी छुट्टाछुट्टै कार्यतालिका बनाएर प्रतिनिधि खटाइएको नेपाली काँग्रेस बागलुङले जनाएको छ ।

दलहरुले आफ्ना सबै भ्रातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधिलाई मतपेटिका कुर्ने जिम्मेवारी सुम्पेका छन् । निर्वाचन आयोगको अनुरोधअनुसार नै दलका नेता कार्यकर्ताले मतपेटिका कुर्ने व्यवस्था मिलाएका हुन् । दलहरुबीच आपसी विश्वासको वातावरण रहे पनि निवार्चनको संवदेनशीलता हेरेर मतपेटिका कुर्नुपरेको दलका नेताले बताएका छन् ।

प्रतिनिधिसभा १ मा नेपाली काँग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका सूर्य पाठक प्रतिस्पर्धामा हुनुहुन्छ ।