जिल्लालाई खुल्ला दिसामुक्त गर्न सहयोग समिति गठन

0
Shares

 

झापा ।  जिल्लामा सञ्चालित खुल्ला दिसामुक्त अभियानलाई सहयोग पु¥याउन जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले चार सहयोग समिति गठन गरेको छ ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, कार्यदलको बैठकले सहयोग समिति गठन गरेको हो । सन् २०१७ मा झापा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने सरकारको लक्ष्य पूरा हुने नदेखिएपछि सम्बन्धित निकायले यस कार्यलाई पूरा गर्न यस्तो समिति निर्माण गरेको हो ।

राजनीतिक एवं सामाजिक क्षेत्रको परिचालनका लागि जिल्ला समन्वय समिति झापाका प्रमुख एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलको संयोजकत्वमा राजनीतिक एवं सामाजिक क्षेत्र परिचालन सहयोग समिति गठन गरिएको छ ।

स्थानीय तहसम्म खुल्ला दिसामुक्त अभियानमा प्राविधिक सहयोग गर्नका लागि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसचिव एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इ सीताराम काफ्लेको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ ।

यसैगरी, सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रशासनिक क्षेत्र परिचालन सहयोग समिति र उपजिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा क्षेत्रगत परिचालन सहयोग समिति गठन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सरसफाइ फोकल पर्सन रुद्रबहादुर न्यौपानेले जानकारी दिनुभयो ।

आसन्न संघ र प्रदेशसभाको निर्वाचनलगत्तै जिल्ला शिक्षा कार्यालय स्रोत केन्द्रमार्फत खुल्ला दिसामुक्त अभियान प्रवद्र्धन र घरायसी शौचालय निर्माणका लागि सम्पूर्ण विद्यालय क्षेत्रलाई परिचालन गरिने उपजिल्ला शिक्षा अधिकारी उद्धव विष्टले बताउनुभयो ।