झापामा जङ्गली हात्तीको आतंक, ६ घरमा क्षति

0
Shares

भद्रपुर(नेस) । गएराती जङ्गली हात्तीको समुहले ६ वटा घरमा क्षति पुर्याएको छ । झापाको भद्रपुर नगरपालिका ७ चन्द्रगढीका विभिन्न टोलमा आएका हात्तीको समुहले अन्नवाली ,घर लगायतको सामग्रीमा क्षति पुर्याएको हो ।
देउनिया खोला पश्चिमवाट पुर्व आएका बच्चासहित ६ ओटा हात्तीले शान्ति टोलका मेघराज घिमिरे,श्याम प्रसाद न्यौपाने, सरस्वती टोलका लक्ष्मी पोखरेल,कालीमन्दिरटोलका टीकाराम लम्साल,नवराज खतिवडा र जगु मुसहरको घर तथा अन्नवाली नष्ट गरेको हो ।
हात्तीले मेघराजको काठको टाढेघरको केहि भाग , भकारीको धान,करेसावारी,धानको कुन्यू,चोकर लगायत अन्नवाली खादै छरेको पीडित घिमिरेले बताए । राती २ बजे पश्चिमतर्फवाट आएका हात्तीले एक घण्टासम्म घरवरीपरी रहेर क्षति पुर्याएको उनले जनाए । त्यसैगरि बारीमा लगाइएको करिब दश मन कोदोबारी पुर्णरुपले क्षति पुर्याएको सरस्वतीटोलका अर्का पीडित पोखरेलले बताए । भान्सा घर ,करेसावारी लगायत अन्नवाली नष्ट गरेको उनले जनाए । हात्तीले कालीमन्दीर टोलमा रहेका लम्सालको थुपारेर राखेको कोदो पुर्णरुपले नष्ट गरेको छिमेकी सुरेश खनालले जानकारी दिए । सोही समुहले खतिवडा ,मुसहर र न्यौपानेको अन्नवाली नष्ट गरेको पाइएको छ । हात्तीको समुह पश्चिमवाट आएर दक्षिण तर्फ लागेको स्थानीयले बताए । हात्ती आएको हल्लापछि गाउ पुरै त्रसित बनेका थिए । जिल्ला प्रहरी तथा वन कार्यालयमा बारम्बार फोन गरेपनि फोन नउठने गरेको स्थानीय झमक वस्नेतले आरोप लगाए । क्षति पुर्याएपछि आएको टोलीको कुनै काम नभएको उनले गुनासो गरे । दैनिरुपमा हात्ती गाउँमा आउनथालेपछि स्थानीयलाइ आफनो अन्नवाली जोगाउन मुस्किल परेको छ । हात्ती नियन्त्रणमा केहि सहजताको लागि स्थानीयले टर्च लाइटसगै सुरक्षाको पनि माग गरेका छन् ।