नयाँ शक्तिले कमल थापालाई समर्थन नगर्ने !



हेटौंडा,(नेस) । नयाँ शक्तिका ३ नम्बर प्रदेश संयोजक तथा मकवानपुर प्रतिनिधिसभा–२ का उम्मेदवार सोनामसिं स्यांतान (विजय) ले कुनै हालतमा कमल थापालाई समर्थन गर्न नसकिने बताउनुभएको छ ।
विजयले कमल थापालाई समर्थन गर्ने कुरा कुनै हालतमा मान्य नहुने बताउनुभयो । प्रतिनिधिसभा–१ का नयाँ शक्तिका तत्कालिन उम्मेदवार प्रह्लाद लामिछानेकै सहमतिमा थापालाई समर्थन गर्न वार्ता समितिको अपिल आएको खुलासा गर्दै विजयले उम्मेदवारलाई नसोधी कुनै निर्णय नभएको बताउनुभयो ।
कमल थापालाई समर्थन गर्ने विषयमा आएको विज्ञप्ति वार्ता समितिको भएको भन्दै त्यो केन्द्र, संघ वा जिल्ला कुनै निकायले पनि आधिकारिक निर्णय नगरेको उहाँको भनाइ छ । ‘प्रह्लादजीकै सहमतिमा त्यस्तो भएको हो,’ उहाँले भन्नुभयो । पत्रकारहरुले ‘अब तपाईंहरुको मत कसलाई जान्छ त’ भनी सोधेको प्रश्नमा विजयले आँखा चिह्नमै आफ्ना समर्थक, कार्यकर्ता र शुभचिन्तकको मत जाने बताउनुभयो ।
दोस्रो चरणको निर्वाचन हुन ११ दिन बाँकी रहँदा नयाँ शक्ति नेपाल, मकवानपुरका संयोजक तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार प्रह्लाद लामिछाने तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १ (क) का उम्मेदार नारायण सापकोटा एमालेमा प्रवेश गर्नुभएको थियो ।
प्रवेशपछि लामिछानेले आफ्नो जीवनको अधिकांश समय बाम आन्दोलनमा बिताएको र राप्रपासँगको तालमेलले निकै ठूलो चोट पुगेको बताउनुभयो । अब एमालेमा रहेर मुलुक निर्माणमा लागिपर्ने उहाँको भनाइ छ ।
नयाँ शक्ति उम्मेदवार लामिछानेको उम्मेदवारी पार्टीले स्थगन गरेको थियो । नयाँ शक्ति र राप्रपाबीच भएको केन्द्रीय सहमतिअनुसार गोरखामा राप्रपाले नयाँ शक्ति अध्यक्ष डा. बाबुराम भट्टराई तथा मकवानपुरमा नयाँ शक्तिले राप्रपा अध्यक्ष कमल थापालाई सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका तर्फबाट मकवानपुर–३ मा १८ हजार ५ सय १४ मत प्राप्त गरी विजयी भएर नयाँ शक्तिका केन्द्रीय सदस्य तथा मकवानपुर संयोजक रहनुभएका लामिछानेले उम्मेदवारी दर्ताको १९ दिनपछि केन्द्रीय सहमति तथा अपिलअनुसार उम्मेदवारी छाडेर कमल थापालाई समर्थन गर्नुपर्ने भएको थियो । चुनाबमा दुई दलले गोरखा र मकवानपुरमा अर्को पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेपछि लामिछाने तनावमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्