रोकियो बाढीपीडितको चामल !



हेटौंडा, (नेस) । ८० बोरा चामल लिएर मनहरी गाउँपालिका–४, हाँडीखोलास्थित बाढीपीडित बस्ती जान लागेको ट्रयाक्टर बुधवार विहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
साउन अन्तिम साताको बाढीपहिरो र भूक्षयका कारण जंगलबीच त्रिपाल टाँगेर कष्टकर जीवन बिताइरहेका हाँडीखोलाबासीका लागि चिनियाँ नागरिकले चामलको ब्यवस्था गरेका थिए । चीनबाट आएका क्रिश्चियन धर्म समुदायका दम्पत्तीले बाढीपीडितको अवस्था नाजुक देखेपछि मनहरीस्थित एक चर्चका अगुवाहरुको समन्वयमा चामल दिन लागेका थिए ।
उनीहरु स्वयम्ले नै मनहरीस्थित रिभरसाइडस्थित एक पसलबाट १ सय ६० बोरा चामल खरिद गरी रकम तिरेका थिए । मनहरीस्थित चर्चका अगुवाहरु तथा बाढीपीडित पक्षका चारजना प्रतिनिधिसमेत राखेर बितरणका लागि चामल लैजान खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जुनसुकै संस्थाले सामग्रीहरु बितरण गरे पनि राजनीतिक मुद्दा बनेर विवाद निक्लने भएकाले चुनाबअघि सबैखाले कामहरु रोकिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख निरीक्षक चित्र घलेले बताउनुभयो । नियन्त्रणमा लिइएको ८० बोरा चामल प्रहरीपरिसरमा राखिएको छ । चुनाबलगत्तै चामल सम्बन्धित पक्षलाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।
चामल बितरणका लागि समन्वय गर्दै आइरहेका सुमन प्रजाले दाताले हतार गरेकाले चामल बितरण गर्न लागिएको बताउनुभयो । ‘दाता दम्पत्ती चुनाबअघि नै चीन फर्कने भएकाले त्यसअघि नै पीडितले खाद्यान्न सामग्री पाऊन् भनेर उनीहरु आफैं आएर खरिद गरेर हामीलाई जिम्मा लगाएका थिए’, सुमनले भन्नुभयो । तर, केही व्यक्तिले अवरोध गरेको र प्रहरीले रोकेको उहाँले बताउनुभयो ।
‘पीडितको सहयोगका लागि सहजीकरण गरेका हौं’, सुमनले भन्नुभयो–अब स्थानीय सरकारसँग मिलेर चुनाबपछि बाँड्ने काम गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्