कांग्रेस उम्मेदवार कार्कीलाई थप उपचारकालागि हेलिकप्टरबाट काठमाडौँ ल्याइयो



काठमाडौँ । बम बिस्फोटमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका उदयपुर क्षेत्र नम्बर २ का उम्मेदवार नारायणबहादुर कार्कीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । उदयसी बहुमुखी क्यम्पसकी स्ववियु सभापति मीरा कटुवाललाई पनि कार्कीसँगै थप उपचारका लागि हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल ल्याइएको छ । उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेंसीमा बुधबार बिहान ८ बजे बम विस्फोट भएको थियो । प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीका अनुसार बा १५ च ७८०६ नम्बरको बलेरो जीपमा सवार कार्कीसहित सात जना नेपालटारबाट कटारीतर्फ जाँदै गर्दा अज्ञात समूहले राखेको एम्बुसमा परेका थिए । उम्मेदवार कार्कीसँगै घाइते हुनेमा उदयसी बहुमुखी क्याम्पस कटारीका स्ववियु सभापति कटुवाल, गाडीचालक कटारीका ३५ वर्षीय राजन कार्की, धामाया कार्की र प्रहरी जवान कालीदास श्रेष्ठ छन् । गाडीमा सवार सातमध्ये तीन जनाको अवस्था गम्भीर भएको र एक जना सकुशल रहेको प्रहरीले जनाएको छ । उम्मेदवार कार्कीको टाउको र खुट्टामा चोट लागेको छ । घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर अपराधीको जंगल क्षेत्रमा खोजी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्