प्रधानमन्त्रीको सभास्थलनजिक बम विस्फोट म्यादी प्रहरीसहित आठ घाइते


नरेन्द्र केसी, घोराही, दाङ
दाङको तुलसीपुरमा बम विस्फोट हुँदा म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन्। घाइते हुनेमा तुलसीपुर म्यादी प्रहरी विनोद चौधरी, तुलसीपुर–६ की जेनी वली, शान्तिनगर गाउँपालिका–२ का हिमलाल राम्जाली, बबई गाउँपालिका–६ का नेबबहादुर खत्री, सुनिता चौधरी, सल्यान थारमारेकी देवी डीसी, सल्यानको ढोरचौरकी नरवनी बुढा घाइते हुनुभएको छ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको राप्ती अञ्चल अस्पतालले जनाएको छ। बम विस्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेस दाङले तुलसीपुरले अरनीको मैदानमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवा कार्यक्रमस्थल प्रवेश गर्नै लाग्दा बम विस्फोट भएको थियो। चुनावीसभा आयोजना गरेको करिब सय मिटर टाढाको दूरीमा बम विस्फोट गराएको थियो। बम विस्फोट गराउनेको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाशचन्द्र गुप्ताले जानकारी दिनुभयो।

घटनाको कसैले जिम्मा नलिए पनि चुनाव बहिष्कार गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बिष्फोट गराएको प्रहरीले अनुमान गरेको छ।

यसअघि वाम गठबन्धनले गरेको चुनावी सभालाई सम्वोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ आएको बेला नेकपाले दाङ बन्द गरेको थियो। त्यस्तै सोही दिन घोराहीमा आयोजित सभास्थल नजिक बम बिष्फोट गरिएको थियो। त्यस्तै केही दिनअघि तुलसीपुरमा आयोजित सभास्थलनजिक पनि बम बिष्फोट गरिएको थियो।