तारा एअरको विमान दुर्घटनाः घाइते प्रहरीलाई नेपालगन्ज लगियो


नेपाल समाचारपत्र, काठमाडौ ।
दुर्घटनाग्रस्त तारा एयरमा सवार गम्भीर घाइते प्रहरी सहायक निरीक्षक यमबहादुर दाहाललाई उपचारका लागि नेपालगन्ज लगिएको छ ।

टाउकोमा गम्भीर चोट लागेका सहायक निरीक्षक दाहाललाई नेपाली सेनाको हेलिकोप्टरबाट लगिएको
प्रहरीले जनाएको छ ।

तारा एयरको ९ एनएबिएम कलसाइनको ट्वीनअटर विमान हुम्लाको सिमकोट विमानस्थलमा मंगलबार बिहान उड्ने क्रममा दुर्घटनामा परेको थियो ।

विमानमा चालक सहित १५ जना सुरक्षाकर्मी सवार थिए । उनीहरूमध्ये चालकदलका सदस्यहरू क्याप्टेन अमृत गुरुङ र वसन्त लामा तथा परिचारिका श्रेया श्रेष्ठ सामान्य घाइते भएको खबर छ ।

यस्तै, प्रहरी जवानहरू हस्तबहादुर सिंह र किशोर ऐरी पनि सामान्य घाइते भएका छन् । उनीहरू सबैको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।