चुनावी प्रतिस्पर्धामा लाहुरे उम्मेदवार


सलिम अन्सारी, प्युठान
भनिन्छ, फौजीले राजनीति जान्दैनन्, राजनीतिक कुशतलाबाट उनीहरू टाढै रहन्छन्। तर प्युठानका एक उम्मेदवार भने यस विषयमा अपवाद बनेका छन्।

राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका प्राडा गोविन्दराज पोख्रेल प्रतिस्पर्धी छन्। जिल्लामा मुख्य प्रतिस्पर्धी मानिएका यी २ लाई उम्मेदवारलाई चुनौती दिँदै नयाँ शक्ति नेपालले भने लाहुरेलाई चुनावी मैदानमा उतारेको छ। भारतीय सैनिकको जागिर बीचमै छोडेर राजनीति र समाजसेवामा होमिएका घमानसिंह गुरुङ नयाँ शक्तिका तर्फबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन्।

सरुमारानी गाउँपालिका–१ दर्भानका स्थानीय गुरुङ नयाँ शक्तिका केन्द्रीय सदस्यसमेत हुन्। लाहुरे पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा रहेका उनी भन्छन्– ‘मैले भारतको सुखसुविधा छोडेर जनताको सेवा गर्न आएको छु, समाज परिवर्तनका लागि आफ्नो सीप र क्षमताको प्रयोग गर्नेछु।’ मतदातासँग भोट माग्न व्यस्त गुरुङले दोहोर्याउँदै भने– ‘जनताको सेवा मेरो पहिलो एजन्डा हो।’ चुनावी नतिजा आफ्नो पक्षमा नआए पनि जनताबाट आफू टाढा नहुने उनको दाबी छ।

प्युठानमा प्रतिनिधिसभामा १ र प्रदेशसभाका २ वटा निर्वाचन क्षेत्र छन्। जनजातिको बाहुल्य जिल्ला भएकाले बहुसंख्यक जनजातिको मत आफूले पाउनेमा गुरुङ विश्वस्त छन्। आफू विजयी भएमा जनताका पक्षमा काम गर्ने र सरकारले दिएको सेवा सुविधालाई स्थानीय विकासका लागि न्यायोचित ढंगले खर्च गर्ने उनको पहिलो एजेन्डा हो। पार्टीका संयोजक डा. बाबुराम भट्टराईको विकाशील सिद्धान्तबाट प्रभावित गुरुङले अर्थशास्त्रमा स्नातकोत्तर तहको औपचारिक शिक्षा हासिल गरेका छन्।

विसं २०३८ सालमा जिल्लाको ऐरावती गाउँपालिकाको तालपोखरामा जन्मिएका उनी २०५५ सालमा पवेशिका तह उत्तीर्ण गरेपश्चात् भारतीय सैनिकमा भर्ना भएका थिए। २०५७ सालमा छँदाखाँदाको जागिर छोडेर समाजसेवाको यात्रामा होमिएको भएको उनी बताउँछन्। कम्युनिस्ट पृष्ठभूमिबाट उनको राजनीतिक यात्रा शुरू भएको हो। २०५० सालमा राजमो निकट अनेरास्ववियु छैठौंको एकाई सदस्य भएर राजनीतिमा सक्रिय बनेका उनी आदिवासी जनजाति सांस्कृतिक परिवारका केन्द्रीय सदस्य र पछि उपाध्यक्षसमेत भए। गुरुङले २०५८ मा कम्युनिस्ट पार्टीको सदस्यता पाएका हुन्। २ वर्षअघि माओवादीबाट बाबुराम भट्टराई अलगिएपछि उनी सो पार्टीमा संगठित भएका हुन्।