१० परमाणु अस्त्र बोक्ने अन्तरमहाद्विपीय क्षेप्यास्त्र परीक्षण


बेइजिङ, (एजेन्सी)।
चीनको जनमुक्ति सेनाले नयाँ पुस्ताको अन्तरमहाद्विपीय ब्यालिस्टिक क्षेप्यास्त्र आफ्नो अस्त्र भण्डारमा थप्ने भएको छ। अमेरिकाको भन्दा अत्यन्त न्यून परमाण हतियार भण्डारका कारण सैन्यशक्तिको विस्तारमा जोड दिइरहेको चीनले शक्तिशाली परमाणु हतियारको सफल परीक्षण गरेको छ।

दोङफेंग–४१ भनिने उक्त क्षेप्यास्त्रको मारक क्षमता १२ हजार किलोमिटर रहेको छ। यसको अर्थ उसले चीनको मुख्यभूमिबाट पृथ्वीको कुनै पनि हिस्सामा प्रहार गर्ने क्षमता राख्छ। यसले एकैपटक करिब एक दर्जन परमाणु अस्त्र बोक्न सक्ने पनि ग्लोबल टाइम्सले जनाएको छ। यो क्षेप्यास्त्रको बेग माक १० (ध्वनिको गतिको १० गुणा) छ।

‘यसले १० वटा परमाणु अस्त्र बोक्न सक्छ, प्रत्येकले फरक फरक निसाना बनाउन सक्छ।’ –चीनको हतियार नियन्त्रण तथा निशस्त्रीकरण संघका वरिष्ठ सल्लाहका सु ग्वांग्युले चाइना सेन्ट्रल टेलिभिजनसँगको कुराकानीमा बताए। दोङफेंग–४१ सेनामा समावेश भएपछि चीनले आफ्नो सुरक्षा क्षमता हासिल गर्नेछ र बढ्दो युद्धको सम्भावनालाई रोक्नेछ।

उक्त क्षेप्यास्त्रले शत्रुको प्रतिरक्षा प्रणालीलाई छक्काउने संयन्त्रको प्रयोग गर्न सक्ने र यो अर्को वर्षको मध्यतिर औपचारिक रुपमा सेनामा तैनाथ हुन सक्ने सुले बताए। यसैबीच पूर्वजनमुक्ति सेनाको रकेट फोर्सका सदस्य सोङ झोङपिङले दोङफेंग करिब करिब तैनाथको स्थितिमा रहेको बताए। क्षेप्यास्त्रको परीक्षण तैनाथपछि मात्र भएको उनले थपे।

चीनले कुनै पनि देशसँग परमाणु हतियारकाको संख्यामा प्रतिस्पर्धा नगरेको र उसले हतियारको होडमा विश्वास नगरेको सोङले बताए।
चीनले दोङफेंग–४१ देशको पश्चिमी भागको अज्ञात मरुभूमिमा पहिलो परीक्षण सन् २०१२ मा गरेको गत वर्ष नोभेम्बरमा घोषणा गरेको थियो। तर अमेरिकी भू–उपग्रहको ट्राकिङ प्रणालीले सन् २०१६ अप्रिलमा सातौंपटक उक्त क्षेप्यास्त्रको परीक्षण भएको पत्ता लगाएको थियो।

चीनसँग उत्तर कोरियाको भन्दा धेरै लामो दूरीको अन्तरमहाद्विपीय क्षेप्यास्त्रहरु छन्। यद्यपि हालैका दिनमा उत्तर कोरिया अमेरिकाका लागि परमाणु आक्रमणको खतरा भएर अगाडि उभेको छ। यसै महिना बेइजिङ भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई परमाणु हतियार कार्यक्रम परित्याग गर्न दबाबका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई आग्रह गरेका थिए। प्योङयाङले यसै वर्ष मात्रै कम्तीमा १३ पटक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ।

अक्टोबरमा रुसले पनि ४ वटा अन्तरमहाद्विपीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो। रुसले ती क्षेप्यास्त्रले एक दर्जन परमाणु हतियार बोक्न सक्ने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।